Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

कीर्तिपुरको मेयरमा सरसफाइ अभियन्ता राजमानले स्वतन्त्र उम्मेदवारी दिने

आउँदो मंसिर १६ को उपनिर्वाचनमा सरसफाइ अभियन्ता राजमान महर्जन ‘मानव’ ले कीर्तिपुर नगरपालिकाको प्रमुखमा चुनाव लड्ने घोषणा गरेका छन् । २०६७ सालबाटै सरसफाइ अभियन्ताका रूपमा उदाएका उनले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन् ।

उनले उम्मेदवारी घोषणा गरिसकेको बताउँदै मंसिर २ गते मनोनयन दर्ता गर्ने उनले जानकारी दिए । उपनिर्वाचन लड्नका लागि आफूले असोज ४ गतेबाटै नगरभित्र घरदैलो कार्यक्रमलाई अघि बढाएको उनले जानकारी दिए । कीर्तिपुरकै लहना रेस्टुरेन्टको अध्यक्ष समेत रहेका उनले आफूलाई धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङबाट पनि सहयोग आश्वासन आएको बताए । यस्तै काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाह बालेनको सचिवालयबाट पनि सम्पर्क भएको दावी गरे । 

आफू नितान्त सामाजिक अभियन्ता भएको र राजनीतिक व्यक्ति नभएकाले पनि आफ्नो अभियान सफल बनाउन एक पटक पावरमा जान चाहेको उनले बताए ।  ‘मेरो सरसफाइसम्बन्धी जुन अभियान छ र मैले जसरी सोचेको छु त्यसलाई पुरा गर्न एक पटक पावरमा जान चाहेको हो‚’ उनले सुनाए, ‘अभियान आफूले भने अनुसार सधैँ ढाल्न सकिने रहेनछ । पावर र अभियानले निचोड निकाल्न सकिन्छ कि भन्ने दृष्टिकोणले गर्दा खेरी एक पटक मेयर बन्न चाहेको हो ।’ करिब १५ देखि कीर्तिपुर र विभिन्न ठाउँमा सफाइ गर्दै आएका उनलाई जिताउन भन्दै धरानका मेयर हर्क साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन् ।

‘कीर्तिपुर नगरपालिकाका चीर परिचित समाजसेवी विश्व सरसफाइ अभियन्ता तथा सांस्कृतिक सम्पदा संरक्षणमा लागि पर्ने राजमान ज्युलाई हाम्रो स्वतन्त्र समूहले मेयरको पदमा स्वतन्त्र उम्मेदवारको रूपमा अघि सारेका छौं १ सबैले सक्दो शेयर गरेर स्थानीयहरू माझ व्यापक प्रचार गरिदिनुहोला १ जय स्वतन्त्र १’ हर्क साम्पाङले लेखेका छन् ।