Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

नारायणगढ-मुग्लिन सडकखण्डको सत्र किलोमा बस र हायस ठोक्किँदा पाँच जनाको मृत्यु, पाँच जना घाइते

नारायणगढ-मुग्लिन सडकखण्डको सत्र किलोमा शुक्रबार बिहान बस र हायस ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन्। 

 मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको बा.प्र. ०६-००१ ज. ०२९८ नम्बरको विद्युतीय हायस र नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको बा. प्र. ०३-००१ ख. २८१२ नम्बरको बस ठोक्किँएका हुन्।

दुर्घटनामा अन्य पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिए। प्रवक्ता रिजालका अनुसार बिहान ३ बजे भएको दुर्घटनामा विद्युतीय गाडीमा सवार यात्रुको मृत्यु भएको हो। मृतक गोरखा आरुघाट गाउँपालिका–१ का ४२ वर्षीय राजबहादुर गुरुङबाहेक अरुको पहिचान खुलिसकेको छैन।

घाइतेको भारतपुर अस्पताल र चितवन शिक्षण अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले बस चालक मकवानपुर हेटौडा उपमहानगर पालिका ९ का सूर्य विक्रम विष्टलाई नियन्त्रणमा लिएको छ।