Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

रवि लामिछानेलाई हिरासत बाहिरै राखेर अनुसन्धान गर्न रास्वपाको माग, प्रदर्शन जारी राख्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई हिरासत बाहिरै राखेर अनुसन्धान गर्न पार्टीले माग गरेको छ । हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने आधार र कारण नभए पनि एकपछि अर्को म्याद थप्दै सभापति लामिछानेको हिरासत बसाइ लम्ब्याउने प्रयास भइरहेको रास्वपाले जनाएको छ ।

‘संसदीय छानबिन समितिले अनुसन्धान गरी सहकारीको बचत अपचलनमा सभापति लामिछानेको संलग्नता नरहेको स्पष्ट पारे पनि सरकारले सहकारी ठगीसहित संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा समेत अनुसन्धान अगाडि बढाएको छ । हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने आधार र कारण नभए पनि एकपछि अर्को म्याद थप्दै सभापति लामिछानेको हिरासत बसाइ लम्ब्याउने प्रयास भइरहेकाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ कार्यवाहक प्रवक्ता मनिष झाले बुधबार विज्ञप्तिमार्फत् बताएका छन् ।

सभापति लामिछानेको पक्राउविरुद्ध र सहकारीपीडितलाई न्यायको मागसहित कास्कीको पोखरामा मंगलबार भएको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले अत्यधिक बल प्रयोग रास्वपाले आरोप लगाएको छ । ‘रत्न चोक हुँदै वाइचोकमा भएको प्रदर्शनका क्रममा प्रहरीले लाठीचार्जसहित ६ सेल अश्रुग्याँस प्रहार गरेको थियो भने प्रदर्शनमा सहभागी १५ जनालाई गिरफ्तार गरियो,’ झाले बताएका छन्, ‘आन्दोलनको समाचार संकलन गर्न गएका पत्रकार राजकुमार माझी लगायतलाई प्रहरीद्वारा गरिएको हातपात र सञ्चार सामग्री तोडफोड समेत गरिएको कार्यको घोर विरोध गर्दछौं ।’ 

बुधबार पोखराको मानवअधिकार चोकलगायत देशका विभिन्न जिल्लामा विरोध कार्यक्रम यथावत रहेको रास्वपाले बताएको छ । सहकारी ठगी, संगठित अपराधको अभियोगमा रास्वपा सभापति लामिछाने कास्की प्रहरी हिरासतमा छन्। उनलाई कात्तिक २ गते पक्राउ गरिएको हो । मंगलबार समेत तीन पटक अदालतबाट म्याद थप गरी प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको छ । 

कार्यवाहक प्रवक्ता झाले संसदीय छानबिन समितिले अनुसन्धान गरी सहकारीको बचत अपचलनमा सभापति लामिछानेको संलग्नता नरहेको स्पष्ट पारेको दाबी गर्दै सरकारले सहकारी ठगीसहित संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा समेत अनुसन्धान अगाडि बढाएको उल्लेख गरेका छन् । यसैबीच उनले आज अपराह्न ४ बजे पोखरालगायत देशका विभिन्न जिल्लामा रास्वपाको विरोध कार्यक्रम जारी रहने जानकारी पनि दिएका छन् ।