Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

त्रिभुवन विमानस्थलबाट स्पिकरमा लुकाइएको साढे पाँच किलो बढी सुन बरामद

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे पाँच किलो बढी सुनसहित तीन जना पक्राउ परेका छन्।मंगलबार साँझ उनीहरूलाई पाँच किलो सात सय ग्राम सुनसहित नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन् । 

उनका अनुसार पक्राउ पर्नेमा एक चिनियाँ र दुई जना म्यानमारका नागरिक रहेका छन् । पक्राउ पर्नेमा चिनियाँ नागरिक जियानझोङ र म्यानमारका सातनाइनटुङ र इन ङोन फू छन् । एयर अरेबियाको उडान नम्बर जी (५३) मा  शारजाहबाट काठमाडौं आएका उनीहरूलाई सुनससहित नियन्त्रणमा लिइएको उनले बताए ।

सहप्रवक्ता थापाका अनुसार उनीहरूलाई भन्सार ब्यागेज क्षेत्रमा रिचेक (पुनः जाँच) गर्ने क्रममा लगेजभित्र राखेको १२ थान स्पिकरमा करिब सुन फेला परेको थियो । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय र सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार सुरक्षा बेशको संयुक्त टोलीले उनीहरूलाई निमन्त्रणमा लिएको हो । सुनसहित नियन्त्रणमा लिइएका तीनै जनालाई आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा राखिएको डीएसपी थापाले बताए ।