Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अनुमति

कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अनुमति दिएको छ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका रवि लामिछानेमाथि अनुसन्धान गर्न अदालतले थप १० दिन म्याद थपेको हो । 

न्यायाधीश चन्द्रकान्त पाैडेलकाे इजलासले लामिछानेमाथि अनुसन्धान गर्न म्याद थप्ने अनुमति दिएको हो । प्रहरीले भने अनुसन्धानका लागि २५ दिनको समय मागेको थियो ।

उनी कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए । लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणको कसुरमा अनुसन्धान गरिरहेको हो। उनलाई यसअघि दुई पटक म्याद लिएर अनुसन्धान गरिएको थियो।

यस्तै यस कसुरमा प्रहरी हिरासतमा रहेका पूर्व डिआइजी छविलाल जोशी, रामबहादुर खनाल र लिला पछाईंलाई पनि १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। 

तिहारको सार्वजनिक बिदाका कारण म्याद थप गर्न नमिलेकोले आज म्याद थपका लागि उनीहरूलाई अदालत लगिएको थियो। यस मुद्दामा पूर्व डिआइजी छविलाल जोशीलाई प्रहरीले असोज ६ गते पक्राउ गरेको थियो। असोज १४ गते लिला पछाईंलाई पक्राउ गरेको थियो। खनाललाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले कात्तिक ९ गते पक्राउ गरेको थियो।

लामिछानेलाई प्रहरीले बुटवलको सुप्रिम सहकारीको ठगी मुद्दामा पनि अनुसन्धानका लागि लग्ने तयारी गरिरहेको छ।