Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

कीर्तिपुरको मेयरमा माओवादी केन्द्रले शिवशरण महर्जनलाई उम्मेदवार बनाउने

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले कीर्तिपुरको मेयरमा प्रा.डा. शिवशरण महर्जनलाई उम्मेदवार बनाउने भएको छ । माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाको नेतृत्वमा बसेको कीर्तिपुर नगरसमितिको बैठकले उपनिर्वाचनमा महर्जनलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो ।

मंसिर १६ गते हुने उपनिर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले कीर्तिपुर नगरपालिकाको मेयर पदमा ध्रुव महर्जन उम्मेदवार बनाउने निर्णय यसअघि नै गरिसकेको छ । यस्तै नेकपा एमालेले डा. सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले कीर्तिपुर नगरपालिकाको मेयरमा ध्रुव महर्जनलाई उम्मेदवार बनाउने घोषणा गरेको छ । 

कीर्तिपुरका मेयर राजकुमार नकर्मीको क्यान्सरका कारण २०८१ साउन ११ गते निधन भएकाले सो स्थान रिक्त छ । यस्तै क्यान्सरकै कारण कीर्तिपुर–१ का वडाध्यक्ष हीरालाल महर्जनको २०८० फागुनमा तथा मोटरसाइकल दुर्घटनामा परी वडा नं. ४ का वडाध्यक्ष श्यामकुमार अधिकारीको २०८० वैशाखमा निधन भएकाले त्यहाँ पनि उपचुनाव हुँदैछ । 

अर्को चुनाव हुन अझै एक वर्षभन्दा बढी समय भएकाले रिक्त स्थानमा निर्वाचन आयोगले उपचुनाव गराउन लागेको हो। घटना, प्रकोप र रोगव्याधिलगायत कारण जनप्रतिनिधिको निधन हुँदा स्थानीय तहका विभिन्न ४० पद खाली छन् । जसमा जिल्ला समन्वय समितिका प्रमुख २, गाउँपालिका अध्यक्ष २, नगरपालिका प्रमुख १, गाउँपालिका उपाध्यक्ष ४, नगरपालिका उपप्रमुख १, गाउँपालिका वडाध्यक्ष ९ र नगरपालिका वडाध्यक्ष २१ गरी ४० पद छन् ।

उपनिर्वाचन हुन लागेकामध्ये नेपाली कांग्रेसका तर्फबाट २ जिल्ला समन्वय समिति प्रमुख, ३ पालिका प्रमुख, ३ पालिका उपप्रमुख र १७ वडाध्यक्ष गरी २५ जनप्रतिनिधि निर्वाचित भएका थिए । त्यस्तै नेकपा माओवादीले २ पालिका उपाध्यक्ष र ५ वडाध्यक्ष गरी जम्मा ७ पद जितेको थियो । नेकपा एमालेले ६ वडाध्यक्ष जितेका थिए। जनता समाजवादीले जितेको १ वडाध्यक्ष र स्वतन्त्र (कैंची)ले जितेको १ वडाध्यक्ष पद पनि रिक्त रहेकाले उपनिर्वाचन हुँदैछ ।