Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

रवि लामिछानेलाई म्याद थपका लागि आज अदालत लगिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई आज मंगलबार म्याद थपका लागि कास्की जिल्ला अदालत उपस्थित गराइने भएको छ । सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेका गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक समेत लामिछानेलाई म्याद थपका लागि आज कास्की जिल्ला अदालतमा लगिने भएको हो । 

काठमाडौंस्थित पार्टी कार्यालयबाटै कात्तिक २ गते पक्राउ परेका लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र सहकारीको रकम अपचलनमा प्रहरीले एक साथ अनुसन्धान गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको समेत साथ लिएर सम्पत्ति शुद्धीकरणमा लामिछानेको कारोबार खोजी गरेको हो । 

सीआईबीको अनुसन्धान टोलीलाई साथमै लिएर लामिछानेका आफन्तका कारोबार तथा विदेश रकम पठाएको तथ्य समेत खोजी गर्ने काम भइरहेको अनुसन्धानमा संलग्न अधिकृतले जानकारी दिएका छन् । गोर्खा मिडिया ग्रुपकै अर्का सञ्चालक छविलाल जोशी पनि कास्की प्रहरीकै हिरासतमा छन् । जोशीको बयान लिइसकेको प्रहरीले लामिछानेसँग पनि पहिलो चरणको बयान सकेको छ । अनुसन्धानका क्रममा नयाँ तथ्य बाहिर आएकाले प्रहरीले रविसँग थप बयान अर्थात् ततिम्बा बयान लिने तयारी पनि गरेको छ । 

यसअघि एक साता हिरासतमा राख्ने अनुमति पाएकोमा त्यो म्याद तिहार बिदाकै बीचमा सकिएकाले प्रहरीले आज पुनः कास्की जिल्ला अदालतमा उनलाई उपस्थित गराउने छ । आवश्यक कागजात तयार पार्न, ततिम्बा बयानसमेत लिन प्रहरीले थप हिरासतमा राख्ने अनुमति माग्ने तयारी गरेको छ । गत असोजमा सूर्यदर्शन सहकारीको रकम अपचलनको आरोपमा गोर्खा मिडियाका अध्यक्ष जीबी राई निकट लिला पछाइलाई प्रहरीले पक्राउ गरेको थियो ।

उनले गत चैतमा मलेसिया गएर जीबीलाई भेटेको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनको कारोबार पनि अस्वभाविक देखिएको र केही रकम क्रिप्टोमार्फत विदेश पठाएको आशंकामा पनि अनुसन्धान जारी छ । छविले भने रवि र जीबीकै योजनामा गोर्खा मिडिया ग्रुपमा पैसा आएको बयान दिएका छन् । रविको बैंक खाता र त्यसमार्फत भएका सबै कारोबार संकलन गर्ने काम भइरहेको छ । उनले नेपालबाट केही रकम विदेश पठाएको हुन सक्ने आशंकामा त्यसतर्फ पनि प्रहरीले अनुसन्धान केन्द्रित गरेको छ । 

प्रहरीले सम्पत्ति शुद्धीकरणमा ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सक्ने छ । यसैबीच रुपन्देहीमा पनि लामिछानेविरुद्ध पूरक जोहेरी आएको र पक्राउ पुर्जी पनि जारी भइसकेकाले बयानका लागि उनलाई त्यहाँ पनि लगिने छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले उनलाई उपस्थित गराइदिन पत्राचार गरिसकेकाले कास्कीमा अदालती प्रक्रिया सकिएपछि त्यता लगिने छ ।