Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

दाजु र भाइबीच भाइटीका

भाइटीकामा दिदी बहिनीले दाजुभाइलाई टीका लगाएर मखमली र सयपत्रीको माला पहिराइ दिएर दीर्घायुको कामना गर्ने चलन छ । आफ्नै दिदीबहिनी नहुनेले पनि आफन्त र छरछिमेकीका दिदी बहिनीसँग भाइटीका थाप्छन् ।

तर तनहुँको व्यास नगरपालिका–१० सेवरका मदन तिमिल्सिना र सुमन तिमिल्सिनाले विगत सात वर्षदेखि एकअर्कालाई भाइटीका लगाएर तिहार मनाउँदै आएका छन् । आफ्नै दिदीबहिनी नभएपछि सात वर्षदेखि यसैगरी भाइटीका मनाउँदै आएको मदनले बताए । 

मदन र सुमन दुई दाजुभाइ मात्रै हुन् । ‘आफन्त दिदीबहिनीको हातबाट टीका थाप्दै आइरहेका थियौं । उनका आफ्नै दाजुभाइ विदेश गएपछि हामीलाई टीका लगाउन आउन छाड्नु भयो । हामी टीका थाप्न कुरिरहेका थियौँ । नआएपछि मन खल्लो भयो । त्यसपछि हामीले एकअर्कालाइ टीका लगाउने सोच बनाएर सुरु गर्‍यौं। त्यसपछि निरन्तर त्यसरी मनाउँदै आइरहेका छौं’, उनले भने । 

मदन र सुमनले भाइटीका गर्दा सुरुमा धेरैले अनौठो माने । दाजुभाइबीच भाइटीका लगाउने सामाजिक मान्यता थिएन ।सुरुका वर्ष उनीहरू आफैलाई असहज महसुस भयो । दाजुभाइले भाइटीका लगाउन थालेपछि ‘हामी लगाइदिन्छौं’ भन्नेहरू भेटिए । तर, उनीहरूले सुरु गरेको भाइटीकालाई निरन्तरता दिन छाडेनन् । दिदीबहिनी नभए पनि दाजुभाइले भाइटीका गर्दा तिहारमा निधार खाली राख्न नपर्ने भाइ सुमनको भनाइ छ । ‘दाजुभाइले भाइटीका गर्दा सम्बन्ध सुमधुर बन्छ । हामी सदैव यसैलाई निरन्तरता दिनेछौं’, उनले भने ।