पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई उपसभापति स्वर्णिम वाग्लेले भेटेका छन् ।
सहकारीको रकम अपचलन प्रकरणमा हिरासतमा रहेका सभापति लामिछानेलाई उपसभापति वाग्लेले भेटेका हुन् । शुक्रबार साँझको भेटमा उनले लामिछानेलाई ‘एज अफ रिभोल्युसन्स’ पुस्तक पनि उपहार पनि दिएका छन् ।
पुस्तकमा उनले लेखेका छन्, ‘रविजी, तपाईंले आफ्नो असामान्य साहस प्रमाणित गरिसक्नु भएको छ । यो कठिन परिस्थितिलाई पार गर्न तपाईंसँग पर्याप्त दृढता र रणनीतिक धैर्यता होस् भन्ने कामना गर्दछौं । हामी तपाईंसँग छौँ । सबै कुरा राम्रो हुनेछ । अर्को तीन वर्ष ओली–राणा–देउवाकै सेरोफेरोमा शासन चल्दा देशको के बेहाल हुने होला रु उहाँको यो प्रश्नको उत्तरमा फरिद जकारियाद्वारा लिखित नयाँ पुस्तक एज अफ रिभोल्यसन्स दिन पाएँ ।’
भेटपछि सहकारीभन्दा पनि कम्पनी ऐनतर्फ लक्षित ८० वटा सामान्य प्रश्नको बयान सकिएको, खासै नयाँ कुरा नआएको र रविमा मनोबल उच्च रहेको पाएको वाग्लेले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । वाग्लेले तिहार–छठपछि सुशासनको बृहत् एजेण्डामा नयाँ शक्तिहरू गोलबद्ध हुनपर्ने देखिएको बताएका छन् ।