काठमाडौँमा वायु प्रदूषण बढेको छ । काठमाडौंमा वायु प्रदूषण बढ्नुमा मुख्य कारण तिहारका बेला पड्काउने पटका रहेको विज्ञहरु बताउँछन् । पटका मात्रै नभएर अन्य कारणले पनि अबका दिनमा प्रदूषण थप बढ्ने भएकाले सावधानी अपनाउन अनुरोध गरिएको छ ।
‘एयर क्वालिटी इन्डेक्स’ ले हिजो बेलुका काठमाडौँको समग्र वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) एक सय ६० देखाएको थियो । आज बिहान काठमाडौँको एक्यूआई १५६ छ । अस्ती बिहीवार दिउँसोसम्म काठमाडौँको एक्यूआई एक सयभन्दा कम थियो ।
एक्युआई शून्यदेखि ५० राम्रो अर्थात् ग्रीन मानिन्छ । ५१ देखि एक सयसम्मको एक्युआईलाई पहेंलो अनि एक सय एकदेखि १५० सम्मलाई अस्वस्थकर मानिन्छ । यसले मुख्यगरी श्वासप्रश्वास र मुटु रोगका बिरामीलाई असर गर्छ । १५१ देखि दुई सयसम्मको एक्युआईलाई पनि अस्वस्थ तर सबैलाई असर पार्ने हुन्छ । दुई सय एकदेखि तीन सयलाई धेरै अस्वस्थकर मानिन्छ ।
पटका पट्काउँदा विभिन्न रासायनिक पदार्थहरु जस्तै सल्फर डाइअक्साइड, नाइट्रोजन अक्साइड, कार्बन मोनोअक्साइड र धुलोका कणहरु वायुमण्डलमा फैलने र प्रदूषण बढाउने भन्दै सतर्कता अपनाउन वातावरणविद्ले आग्रह गरेका छन् । पटका जस्ता विषाक्त ग्यासले हावा प्रदूषित बनाउने र यसकारण श्वासप्रश्वाससम्बन्धी समस्या उत्पन्न गर्ने वातावरणविद् भूषण तुलाधार बताउँछन् ।
यस्तै जलवायुका विज्ञ डा। धर्मराज उप्रेतीले पनि तिहारमा पट्काउने गरिएको पटकाका कारण वायु तथा ध्वनी प्रदूषण गराउने भन्दै पटका पट्काउन कडाइका साथ नियन्त्रण गर्नुपर्नेमा जोड दिएका छन् ।