ध्रुवसागर शर्मा। दसै–तिहार जस्ता ठूला चाडपर्वको अवसर पारेर म्याग्दीका ग्रामीण क्षेत्रहरु मेलामय भएका छन् । दसै, तिहारको अवसर पारेर ग्रामीण क्षेत्रमा भलिबल, बास्केटबल, फुटबल, महिला भलिबल, ब्याडमिन्टनलगायतका प्रतियोगिता आयोजना भएका हुन् । जिल्लाका छ स्थानीय तहका ४५ वडामध्ये अधिकांश वडामा मेला र खेलकुद प्रतियोगिता सञ्चालन भएका छन् । यस्ता प्रतियोगिताहरुले खेलप्रतिभाको पहिचान गर्न सजिलो भएको मालिका गाउँपालिकाका शिक्षा शाखाका प्राविधिक सहायक सुन्दर खत्रीले बताए ।
गाउँमा रहेका युवा क्लबले खेलकुदसँगै स्थानीय र राष्ट्रिय कलाकारको गीत, नृत्य प्रस्तुतिको कार्यक्रमले गाउँघर यतिबेला मेलामय भएको मालिका गाउँपालिका–२ रुमस्थित लालीगुराँस युवा क्लबका सचिव योगेन्द्र हर्मेलले बताए । ‘हामीले प्रत्येक वर्ष वडादसैँं मेला आयोजना गर्दछौँ । मेलामा केबल रमाइलो मात्र हुँदैन, विभिन्न खेलकुद र रचनात्मक कार्यक्रमहरु पनि आयोजना गरिने हुँदा खेल प्रतिभाको पहिचान गर्न सजिलो भएको छ’, सचिव हर्मेलले भने ।
राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही, महिला भलिबल खेलाडी कमला पुन, पवित्रा बिसीलगायत म्याग्दीका धेरै खेलाडी प्रदेश, विभिन्न क्लब र राष्ट्रिय प्रतियोगितामा सहभागी भएका छन् । उनीहरू पनि यसैगरी ग्रामीण क्षेत्रमा आयोजना हुने गरेका खेलकुद प्रतियोगिताबाट नै छानिएरमाथि पुगेका सचिव हर्मेलले बताए । रुममा यस वर्ष आयोजित बडादसैँ मेला यही कात्तिक ६ गते समापन भएको र मेलामा भलिबल, महिला भलिवल, छेलोलगायतका खेलकुदहरु आयोजना गरिएको उनले बताए ।
त्यसैगरी बेनी नगरपालिका–२ बगरफाँटको रिभरसाइड युवा क्लबले पनि बडादसैको अवसर पारेर रु एक लाख एक हजार पुरस्कार राशिको दोस्रो रिभरसाइड कप फुटबल प्रतियोगिता आयोजना गरेको थियो । त्यसैगरी रघुगङ्गा गाउँपालिकाको बादुक, भगवती र कोटगाउँमा बडादसैको अवसरमा रु एक लाखभन्दा बढी पुरस्कार राशिको खेलकुद प्रतियोगिता सञ्चालन भएको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए । ‘मेला पर्वले ग्रामीण क्षेत्रमा खेल प्रतिभाको पहिचान, संस्कृति संरक्षण र गीत तथा नृत्य कला प्रस्तुतिको अवसर मिलेको छ’, उनले भने ।
यता मालिका गाउँपालिका–६ दरबाङमा पनि मेला र खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । त्यसैगरी सोही गाउँपालिका–४ चिउरीबोटमा स्थानीय परिवर्तन युवा क्लबको आयोजनामा कात्तिक ७ गतेदेखि १५ गतेसम्म विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम सुरु भएको छ । मेलामा प्रौढ, महिला र पुरुष भलिबल तथा तारोखेललगायत प्रतियोगिता सञ्चालन हुने क्लब सचिव सुलब पुनमगरले जानकारी दिए ।
त्यसैगरी उता उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ किन्दुमा रहेको सुनगाभा युवा क्लबले पनि दसैँं र तिहार पर्वको अवसरमा कात्तिक ५ गतेदेखि विभिन्न खेलकुद प्रतियोगितासहित मेला आयोजना गरेको छ । जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले उक्त मेला र बाँस्केटबलको फाइबर बोर्डको पनि उद्घाटन गरेका छन् । ग्रामीण क्षेत्रमा आयोजना भएका खेलकुद प्रतियोगिताबाट छानिएका खेलाडीलाई जिल्ला, प्रदेश, राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर मिलाउने प्रतिनिधि सभाका सदस्य खमबहादुर गर्बजा (खमबीर) ले बताए ।
म्याग्दी महोत्सव
म्याग्दीको मुहार उजिल्याउने उद्देश्यले समयसमयमा विभिन्न सङ्घसंस्था र समुदायले विविध कार्यक्रमको आयोजना गर्ने गरेका छन् । ती कार्यक्रममध्येको एउटा कार्यक्रम हो म्याग्दी महोत्वसको कार्यक्रम । कला, संस्कृति, खेलकुद, पर्यटन, व्यापार–व्यवसाय र स्थानीय उत्पादनसँग साइनो लगाएर आयोजना हुँदै आएका महोत्सवका सात वटा शङ्खला सम्पन्न भइसकेका छन् ।
बेनीमा माघे संक्रान्ति पर्वको अवसरमा लाग्दै आएको ऐतिहासिक मेलालाई निरन्तरता दिँदै कला संस्कृतिको संरक्षण, व्यापार व्यवसाय र पर्यटन प्रवर्द्धन र सम्भावनाहरुको उजागरमा सघाउन म्याग्दी उद्योग वाणिज्य सङ्घको मूल संयोजकत्वमा म्याग्दी महोत्सव हुने गरेको छ । मनोरञ्जनका अतिरिक्त लक्षित उद्देश्य समेत राखिएको यस्ता मेला महोत्सवले जिल्लाको पहिचान र चिनारीलाई फराकिलो बनाउन र सम्भावनाहरुको उजागर गर्न महत्वपूर्ण भूमिका खेलेका उद्योग वाणिज्य सङ्घ म्याग्दीका अध्यक्ष सुविन श्रेष्ठले बताए ।
जेसिज कप : फुटबल खेलाडी उत्पादनको ‘गेटकिपर’
म्याग्दी जेसिजले हरेक वर्ष आयोजना गर्ने अन्तरमाध्यमिक जिल्लास्तरीय विद्यालय जेसिज कप फुटबल प्रतियोगिता म्याग्दीमा फुटबल खेलाडी उत्पादनका लागि ‘गेटकिपर’ मानिने गरेको छ । अन्तर माविस्तरीय फुटबल प्रतियोगिताले विद्यालयस्तरमा लुकेर रहेको खेल प्रतिभालाई उजागर गराउन महत्वपूर्ण भूमिका खेल्दै आएको म्याग्दी जेसिजका संस्थापक अध्यक्ष रमेशकुमार श्रेष्ठले बताए । यस वर्ष पनि २२औं अन्तरमावि जेसिज कप फुटबल प्रतियोगिता आगामी मंसिर १७ गतेदेखि सञ्चालन हुने भएको छ ।
अपनत्वबोध र सम्बन्ध विस्तारको माध्यम
दसैअघिसम्म सुनसान देखिने पश्चिम म्याग्दीको मालिका गाउँपालिका–२ रुममा अहिले निकै चहलपहल छ । बडादसै मेलामा छिमेकीगाउँका मानिसहरुदेखि लिएर गाउँ छोडेर नेपालका विभिन्न ठाउँमा गएका व्यक्तिसमेत आएका थिए । रुम गाउँमा विगत पाँच वर्षयता बसाइँसराइ गरेर अन्यत्र जानेहरुको सङ्ख्या बढ्दै गएपछि गाउँको महत्वलाई बुझाउन र अपनत्व भाव जगाउन स्थानीय युवाहरुको सक्रियतामा राष्ट्रिय कलाकारलाई बोलाइ हरेक वर्ष वडादसैँको अवसरमा मेला आयोजना गरिंदै आएको छ ।
यस वर्ष पनि स्थानीय लालीगुराँस युवा क्लबले बढ्दो बसाइँसराइलाई रोक्न र गाउँ छोडेर अन्यत्र गएकाहरुलाई गाउँमा नै बोलाई गाउँप्रतिको अपनत्व जागृत गराउन मेला आयोजना गरेको हो । ‘गाउँ छोडेर बसाइँसराइ गर्नेहरुको संख्या बढ्न थालेपछि सुन्दर गाउँ उजाड बन्दै गएको छ’, स्थानीय युवा योगेन्द्र हर्मेलले भने, ‘गाउँमा रहेका हामी युवा साथीहरुले सल्लाह गरी तीन वर्षदेखि दशैंैंको लगत्तै बडादसैँ मेला आयोजना गरेर गाउँ बाहिर रहेका रुमेलीहरुलाई गाउँमा बोलाउँछौँ । गाउँको सम्भावना र महत्व बुझाउँछौं । राष्ट्रिय र स्थानीय कलाकारहरुमार्फत मनोरञ्जन गराउँछौँ । विभिन्न किसिमका खेलकुदको आयोजना गर्छौँ, गाउँ छोडेर जान लागेकाहरुलाई सकभर गाउँमै रोक्ने वातावरण बनाउँछौं ।’
मालिका गाउँपालिको केन्द्र दरबाङदेखि दक्षिण भागमा पर्ने रुम गाउँ जैविक, प्राकृतिक र खानीजन्य उत्पादनले सम्पन्न गाउँ हो । कुल २०।७४ वर्ग किमीमा फैलिएको यस गाउँमा जम्मा तीन हजार, छ सय २६ जनसंख्या रहेको छ । बागलुङ्ग जिल्लासँग जोडिएको यस गाउँमा धान, मकै, कोदो, गहुँ जौँ, फापर आदि बाली हुने गर्दछ ।
विगत पाँच वर्षमा रुम गाउँबाट ४८ घरपरिवार बसाइँसराइ गरेर अन्यत्र गइसकेका मालिका गाउँपालिका–२ रुमका वडा सदस्यसमेत रहनुभएका भक्तबहादुर पुनले बताए । ‘पछिल्लो समय गाउँ छोडेर काठमाडौं, पोखरा, चितवन, बेनी, दरबाङलगायतका ठाउँमा बसाइँसराइ गर्नेहरु बढेका छन् । बढ्दो बसाइँसराइलाई रोक्न र गाउँ छोडेर अन्यत्र गएकाहरुलाई केही समय गाउँमा नै फर्काएर गाउँप्रति अपनत्व विस्तार गर्न यस्ता मेला पर्वहरु सहयोगी भएका छन् ।’