Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

साफ फाइनलको टिकट बुधबारबाट मात्रै खुल्ने, अनलाइन बुकिङ रद्द

रंगशालामा यी सामान लैजान नपाउने

साफ महिला च्याम्पियनसिप अन्तर्गत नेपाल र बंगलादेशबीचको फाइनल खेलको टिकट अखिल नेपाल फुटबल संघ (एन्फा) आफैले बुधबारबाट बिक्री गर्ने भएको छ । मंगलबार एन्फाले माउन्ट एभरेस्ट स्पोर्टस एन्ड इभेन्ट्स प्रालिसँगको सम्झौता रद्द गर्दै फाइनल खेलको टिकट आफैंले बिक्री गर्ने जनाएको हो । यसअघि माउन्ट एभरेस्टले टिकट बिक्री गर्दै आएको थियो ।  

साफ महिला च्याम्पियनसिपका लागि माउन्ट एभरेस्टले टेन्डरमार्फत ८० लाख रुपैयाँमा टिकट बिक्रीको अधिकार पाएको थियो । एन्फाले नेपाल र बंगलादेशबीचको फाइनल खेलका लागि तीन ठाउँबाट टिकट बिक्री गरिने जनाएको छ । एन्फाका अनुसार भोलि ९बुधबार० बिहान ८ बजेदेखि जावलाखेलस्थित खेल मैदान, सातदोबाटोस्थित एन्फा मुख्यालय र भद्रकालीस्थित आर्मी अफिसियल केन्द्रबाट फाइनलको टिकट बिक्री हुनेछ । 

यसअघि अनलाइनमार्फत टिकट लिइसकेकाहरूको पैसा फिर्ता गरिने एन्फाले जनाएको छ । साधारण प्यारापिटतर्फ १० हजार टिकट मात्रै बिक्री गरिने पनि एन्फाले जनाएको छ । एक जनाले भीआईपीतर्फ दुईवटा र साधारण प्यारापिटतर्फ पाँचवटा मात्रै टिकट लिन पाउने छन् ।

नेपाल र भारतबीचको सेमिफाइनल खेलमा दशरथ रंगशालाको क्षमताभन्दा बढी टिकट बिक्री गरेको पाइएपछि एन्फाले माउन्ट एभरेस्टसँगको सम्झौता रद्द गर्दै आफैले टिकट बिक्री गर्ने भएको हो । उक्त खेलमा १५ हजार दर्शक क्षमता रहेको रंगशालामा १८ हजारभन्दा बढी दर्शकलाई प्रवेश दिइएको थियो ।  साफ महिला च्याम्पियनसिपको फाइनल खेल बेलुका साढे ६ बजे त्रिपुरेश्वरको दशरथ रङ्गशालामा शुरू हुनेछ ।

रंगशालामा यी सामान लैजान नपाउने

साफ महिला च्याम्पियनसिप २०२४ को बुधबार हुने फाइनल हेर्न खेल मैदन पुग्नेहरूका लागि निम्न सामग्रीहरू साथमा लैजान निषेध गरिएको अखिल नेपाल फुटबल संघ ९एन्फाले० एक विज्ञप्ति जारी गर्दै सूचित गराएको छ । विज्ञप्तिअनुसार यी सामग्रीहरू लैजान पाइने छैन ।

– हातहतियार – बन्दुक, छुरा र अन्य कुनै पनि प्रकारका धारिला, हातहतियार ।

– धुमपान र आगो बाल्ने सामग्री– चुरोट, लाइटर, सलाई आदि ।

– मदिरा र अन्य नशालु पदार्थहरू ।

– झोला र ठूला ब्यागहरू– साना ब्यागहरू जाँचपछि मात्र अनुमति दिइनेछ तर ठूला ब्यागहरू निषेध गरिएका छन् ।

– हेल्मेट र सुरक्षात्मक उपकरणहरू– हेल्मेट र यस्तै सुरक्षा सामग्रीहरू ।

– प्रचार सामग्री– अनुमति बिना ब्यानर, झण्डा, पोस्टर आदिमा निषेध ।

– प्रक्षेपण गर्न मिल्ने वस्तुहरू– पानीको बोतल, क्यान, पत्थर, र अन्य फ्याँक्न मिल्ने, धातुका मुद्रा क्याइन, सामग्रीहरू ।

– लेजर लाइट– खेलाडी तथा रेफ्रीलाई लक्षित गर्ने लेजर लाइट ।

– ड्रग्स र अन्य अवैध पदार्थ– कुनै पनि प्रकारका लागु औषधहरू ।

– छाता– लिबिस्टिक , नेल कटर, कैँची, काइयो ।