Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

चुच्चे नक्सा अंकित १०० रुपैयाँको नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

नेपाल राष्ट्र बैंकले नेपालको संविधानको अनुसूचीमा भएको चुच्चे नक्सा अंकित १०० रुपैयाँको नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई दिएको छ । राष्ट्र बैंकले बोलपत्रमार्फत कम मूल्य प्रस्ताव गर्ने चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पाेरेसनलाई १०० रुपैयाँको नोट छाप्ने, आपूर्ति तथा डेलिभरि गर्ने जिम्मा दिएको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार, हाललाई पहिलो चरणको काम सकिएको छ । अब आशयपत्र कम्पनीलाई पठाएर सम्झौता हुने छ । राष्ट्र बैंकले यसअघि पनि १०० रुपैयाँको नोटमा नेपालको नक्सा राख्दै आएको थियो ।

संविधानको अनुसूची ३ को निशानामा भएको नेपालको नक्सा नै संशोधन भएर नयाँ नक्सा सरकारी कार्यालयमा प्रयोग हुन थालेकाले यो नक्सा १०० रुपैयाँमा भएको नक्सा पनि संशोधन गर्न लागिएको मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक प्रदीपराज पौड्यालले बताए । “अहिले पनि १०० रुपैयाँको नोटमा नेपालको नक्सा छ । १०० रुपैयाँको नोटमा नयाँ नक्सा राख्न लागिएको होइन,” उनले भने, “पुरानो नक्सालाई सरकारको निर्णय अनुसार संशोधनमात्र गर्न लागिएको हो । तर, यो नक्सा स्पष्ट देखिँदैन । नोट पुरानै जस्तो हुन्छ ।”

राष्ट्र बैंकले ३० करोड थान १०० रुपैयाँका नोट छाप्न चिनियाँ कम्पनी छनोट गरिएको हो । गत वैशाख २० गते बसेको मन्त्रिपरिषद्को बैठकले १०० रुपैयाँको नोटमा चुच्चे नक्सासहितको फोटो राख्ने निर्णय गरेको थियो । त्यो बेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ थिए ।

संविधान संशोधन गरेर कालापानी र लिपुलेकसहितको नेपालको चुच्चे नक्सा प्रचलनमा ल्याइएको थियो । सोही नक्सा अब १०० रुपैयाँको नोटमा पनि समावेश गर्न लागिएको हो ।