Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

साफ वुमन्स च्याम्पियनसिप: पाकिस्तानलाई ५-२ ले हराउँदै भारतको विजयी सुरुवात

बिहीबार सुरु भएको साफ वुमन्स च्याम्पियनसिपमा पाकिस्तानलाई ५-२ ले हराउँदै भारतले विजयी सुरुवात गरेको छ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा भारतका लागि डाङमेई ग्रेसले दुई गोल गरिन् भने मनिषा कल्यान, बाला देवी र ज्योति चौहानले १-१ गोल गरे ।

पाकिस्तानका लागि सुहा हिरानी र काएला मारी सिद्दिकीले १-१ गोल गरे । यसै खेलबाट भारतकी कप्तान अशलता देवीले एक सयौं अन्तर्राष्ट्रिय खेल पूरा गरिन् ।खेलको  सुरुवातदेखि नै पाकिस्तानमाथि दबाब बनाएको भारतले खेलको पाँचौं मिनेटमै डाङ्गमेई ग्रेसले गोल गर्दै भारतलाई अग्रता दिलाइन् ।

यस्तै मनिषा कल्यानले १७ औं मिनेटमा गोल गर्दै भारतको अग्रता दोब्बर पारिन् ।३५ औं मिनेटमा बाला देवीले गोल गरेपछि भारतले ३-० को अग्रता बनायो । बक्सभित्र प्राप्त फ्रिकिकमा मनिषाले बाला देवीलाई सट पास दिएकी थिइन् र त्यसमा बालादेवीले गोल गर्दै भारतका लागि आफ्नो ५० औं अन्तर्राष्ट्रिय गोल पूरा गरिन् ।

भारतका लागि डाङ्मेई ग्रेसले ४२ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरिन् ।पाकिस्तानले पहिलो हाफको इन्जुरी टाइममा पेनाल्टीमा गोल फर्कायो । पहिलो हाफको इन्जुरी टाइममा पाकिस्तानकी सुहा हिरानीले पेनाल्टीमा गोल गरेकी हुन् । भारतकी अशलता देवीले नादिया खानलाई फल गरेपछि पाकिस्तानले पेनाल्टी पाएको थियो र त्यसमा हिरानीले सहजै गोल गरिन् ।दोस्रो हाफको सुरुमै पाकिस्तानले गोल गर्दै भारतलाई दबाबमा राखेको थियो । ४७ औं मिनेटमा पाकिस्तानकी काएला मारी सिद्दिकीले गोल गर्दै खेल ४-२ को स्थितिमा ल्याइन् ।

७८ औं मिनेटमा ज्योति चौहानले गोल गर्दै भारतलाई ५-२ को अग्रता दिलाइन् ।प्रतियोगितामा सर्वाधिक ५ पटकको उपाधि विजेता भारतले समूह ए मा ३ अंक जोडेको छ ।