Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

माटोका भाँडा बेचेर मासिक ८० हजार आम्दानी

धरान । इटहरी उपमहमनगरपालिका–६ का सुरज पण्डितले माटोका भाँडाबाट मनग्य आम्दानी गर्दै आएका छन् । गाउँघरदेखि सहरबजारतिर माटोको भाँडा प्रयोगमा कम आए पनि आफूले पुर्ख्यौली पेसा छोड्न नसकेको र यसबाट निराश हुने अवस्था नरहेको बताए ।

“हामी सबै परिवार माटोको भाँडा बनाउँछौँ, हाम्रा बाजेहरूले पहिलेदेखि बनाउँदै यही काम गर्दै आउनुभएको हो,” उनले भने, “पुर्ख्यौली पेसा हो अहिले पनि यही भाडाँ बनाएरै घरखर्च पुगेको छ, आम्दानीको स्रोत नै यही हो ।” 

इनरुवामा उनको माटोको भाँडा बनाउने आरन छ, त्यहाँ बनाएका भाडाँ इटहरी लिएर बेच्छन् । धेरै व्यापारीले आरनमै आएर खरिद गरी लिने गरेको पनि उनले सुनाए । यसरी बनाउने भाँडाका लागि आवश्यक माटो भने विराटनगरको बर्जुताल क्षेत्रबाट ल्याउने गरेको पण्डितले जानकारी दिए ।  

“जस्तो पायो त्यस्तो माटोले भाडाँ बन्दैन, नजिकै  राम्रो माटो पाउन गाह्रो छ । एक ट्रयाक्टर माटोको १२ हजारदेखि १८ हजारसम्ममा ल्याउने गरेका छौँ,” उनले भने, “एक गाडी माटोले १ लाख ५० हजार मूल्य बराबर माटोका सामान बनाउन सकिन्छ । घरमा सबै खर्च कटाएर ८० हजारभन्दा बढी मासिक आम्दानी हुने गरेको छ ।”

पण्डितले माटोको सामान उत्पादन गर्न सकेमा बिक्रीका लागि बजारको समस्या खासै नरहेको बताए । “पूर्वको झापा, मोरङ, पाँचथर, इलाम, खादबारी, फिदिम, धनकुटादेखि भोजपुरसम्म मागअनुसार गाडीमार्फत उठाउने गरेका छौँ,” उनले भने ।