नेपालसँग भएको विदेशी मुद्राले १३.७ महिनाको आयात धान्न पुग्ने
चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो महिना (भदौंमा ) १ खर्ब २६ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको छ। साउनको तुलनामा भित्रने दर १० अर्बले घटेको हो।
साउन एक महिनामा एक खर्ब ३६ अर्ब रूपैयाँ रेमिट्यान्स भित्रिएको थियो। पछिल्लो २१ महिनादेखि निरन्तर रूपमा मासिक एक खर्बभन्दा बढी रेमिटेन्स भित्रिएको छ। साउन र भदौंमा दुई खर्ब ६३ अर्ब रूपैयाँ रेमिट्यान्स भित्रिएको थियो।
गत आर्थिक वर्ष २०८०/८१ दुई महिनामा दुई खर्ब २८ अर्ब रेमिटेन्स भित्रिएको थियो। यो दुई महिनामा ५७ करोड रूपैयाँ रेमिट्यान्सको रूपमा बाहिरिएको छ। दुई महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या ९.९६ प्रतिशतले बढेको छ। गत आर्थिक वर्ष एक लाख ६ हजार जनाले नयाँ र पुन श्रम स्वीकृति लिएका थिए। यस वर्ष १ लाख १७ जना छन्।
नेपालसँग भएको विदेशी मुद्राले १३.७ महिनाको आयात धान्न पुग्ने
नेपालको बैङ्किङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति मुलुकलाई १३.७ महिनासम्म आवश्यक वस्तु तथा सेवा आयात गर्न पर्याप्त रहेको नेपाल राष्ट्र बैङ्कले जानकारी दिएको छ । ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदन सार्वजनिक गर्दै केन्द्रीय बैंकले आर्थिक वर्ष २०८१/८२ को दुई महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १६.८ महिनाको वस्तु आयात र १३.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको जनाएको हो ।
गत आर्थिक वर्ष २०८०/८१ को अन्तिम महिना अर्थात् असार मसान्तसम्म २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २०८१ भदौ मसान्तमा ५.५ प्रतिशतले बढेर २१ खर्ब ५२ अर्ब ५३ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जानकारी दिएको हो । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८१ भदौ मसान्तमा ५.० प्रतिशतले वृद्धि भई १६ अर्ब ४ करोड पुगेको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा २०८१ असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रुपैयाँ रहेकोमा २०८१ भदौ मसान्तमा ४.४ प्रतिशतले वृद्धि भई १९ खर्ब २८ अर्ब ९९ करोड रुपैयाँ पुगेको केन्द्रीय बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा १ खर्ब ९२ अर्ब ५५ करोड रुपैयाँ रहेकोमा २०८१ भदौ मसान्तमा १६.१ प्रतिशतले वद्धि भई दुई खर्ब २३ अर्ब ५३ करोड रुपैयाँ कायम भएको छ ।
राष्ट्र बैंकका अनुसार २०८१ भदौ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.१ प्रतिशत छ । सञ्चिति पर्याप्तता सूचकतर्फ २०८१ भदौ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ३७.७ प्रतिशत, ११४.४ प्रतिशत र ३०.८ प्रतिशत छ । २०८१ असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९.३ प्रतिशत थियो ।