Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

जनताको आकांक्षा पूरा नहुँदा हाम्रो वेचैनी बढाएको छः पूर्वराजा ज्ञानेन्द्र

पूर्वराजा ज्ञानेन्द्र शाहले दसैँको शुभकामना दिएका छन् । उनले दसैँको अवसरमा देश तथा विदेशमा रहेका सबै नेपालीलाई शुभकामना दिएका हुन् ।

उनले खुसी हुन र रमाउन पनि दसैँ कुर्नुपर्ने अवस्था आएको बताएका छन् । “खुसी हुन दसैँ नै पर्खनु पर्ने नियतीबाट मुक्ति पाएर बाह्रै महिना नेपालीले खुसी र सुख प्राप्त गरेको हेर्ने हाम्रो चाहना पूरा हुन नसक्दा हामीलाई दुःख लाग्नु स्वभाविक हो,” उनले शुभकामना सन्देशमा भनेका छन्, “जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन जस्तोसुकै त्याग गर्न पनि तत्पर रहने शाहवंशीय परम्पराको यथोचित पालना गर्दै हामीले नारायणहिटी दरबार छोडेका थियौँ । तर दुई दशक पूरा हुनै लाग्दा पनि स्वदेश मै हर्षका साथ रहने नेपाली जनताको आकांक्षा पूरा नहुँदा हाम्रो वेचैनी बढाएको छ ।”

उनले अहिले परनिर्भता र ऋणको भारले नेपाली थिचिएको बताएका छन् । देशभित्रै युवाशक्तिले कमाउने र रमाउने वातावरण बन्न नसकेको भन्दै उनले सन्देशमा भनेका छन्, “युवालाई स्वदेश मै रोजगारी सिर्जना गर्दै आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न विकल्प प्रस्तुत गर्न नसक्नुको परिणाम आज मुलुकले कहालीलाग्दो अवस्था भोग्दै छ ।”

राष्ट्र–राष्ट्रहरुको बीचमा विश्वासको संकट चुलिँदै गएको भन्दै सन्देशमा ज्ञानेन्द्रले भनेका छन्, “महाशक्तिहरूबीचको तनाव र स्वयं घोषित नवशक्तिहरूको अहमता बढ्दै गएको छ । यस्तो अवस्थामा नेपाल शान्त राष्ट्रको रुपमा घोषित होस् र यसैबाट विश्वभर परिचित रहोस् भन्ने हाम्रो मान्यता र आग्रह छ ।”