Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

अध्यक्ष ढकाल पश्चिमाञ्चल विकास मञ्चद्वारा सम्मानित

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई पश्चिमाञ्चल विकास मञ्चले सम्मान गरेको छ । 

मुलुकको अर्थतन्त्रको विकासमा पुर्याएका उल्लेखनीय योगदानका साथै साविकको पश्चिमाञ्चल विकास क्षेत्रमा जन्मिएर नेपाली उद्योगी व्यवसायीहरुको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षजस्तो उच्च पदमा पुग्न सफल भएकामा अध्यक्ष ढकाललाई सम्मान गरिएको थियो । 

साथै सो मञ्चका निवर्तमान अध्यक्ष समेत रहेका ढकालले मञ्चको संस्थागत विकासका क्षेत्रमा निर्वाह गरेका विशिष्ठ भूमिकाको कदरस्वरुप उनलाई सो सम्मान प्रदान गरिएको मञ्चले जनाएको छ ।  

मञ्चको वार्षिक साधारणसभाका अवसरमा आज राजधानीमा आयोजित एक समारोहमा पूर्वप्रधानन्यायाधीश कल्याणराज श्रेष्ठले उनलाई उक्त सम्मान प्रदान गरेका थिए । कार्यक्रममा मुख्यसचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्देललगायतका विशिष्ठ व्यक्तित्वहरुलाई  पनि सम्मान गरिएको थियो । 

नेपाल हाल संघीय शासन प्रणालीमा रुपान्तरित भएको भए पनि साविकको पश्चिमाञ्चल विकास क्षेत्रको विकास र प्रवर्धन हेतु स्थापित सो मञ्चले मुलुकको पश्चिमाञ्चल क्षेत्रमा जन्म भई राष्ट्रिय जीवनका उच्च पदमा पुग्न सफल व्यक्तित्वहरुलाई सम्मान गर्ने गर्दछ ।