Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

एनसेलकी खड्कालाई ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर’ अवार्ड

एनसेलकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्का बेलायतको वुमन्स ट्याब्लोइडले प्रदान गरेको ‘वुमन्स् ट्याब्लोइड अवार्ड्स २०२४’ बाट सम्मानित भएकी छिन् । उनले ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर–टेलिकम’ विधाअन्तर्गत यो अवार्ड पाएकी हुन् ।

यो अवार्ड उनले सामाजिक क्षेत्रमा गरेका महत्वपूर्ण कार्यहरू र ती कार्यहरूको प्रभावको सम्मान भएको एनसेलले जनाएको छ । यो अवार्ड एनसेलले एक जिम्मेवार कर्पोरेट नागरिक बनेर वर्षौँदेखि स्वास्थ्य, शिक्षा, वातावरण, विपद् प्रतिकार्य तथा पूर्वतयारी लगायतका क्षेत्रहरूमा गर्दै आएको प्रभावकारी सामाजिक पहलहरूको एक प्रमाण भएको जनाएको छ ।

‘यो हाम्रो टिम एनसेलले गरेको सामूहिक प्रयासको नतिजा हो र हामीले गरेका सामाजिक पहलहरूले अन्तर्राष्ट्रिय मान्यता पाएकोमा धेरै खुसी छौं । एनसेल फाउन्डेसनको सुरुवातसँगै हामी सामाजिक पहलहरू मार्फत समुदायमा सकारात्मक र दिगो परिवर्तन ल्याउन, सामाजिक–आर्थिक विकासमा योगदान पुर्‍याउन र दिगो विकास लक्ष्यहरू प्राप्तिका लागि सरकारलाई सहयोग गर्ने हाम्रो यात्रालाई निरन्तरता दिन प्रतिबद्ध छौं,’ खड्काले भनिन् ।

एनसेलले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा १ करोड ३० लाखभन्दा बढी नेपालीलाई सकारात्मक प्रभाव पार्दै देशै भरी १०० भन्दा बढी सामाजिक परियोजनाहरू कार्यान्वयन गरेको छ । आफ्नो १९औं वार्षिकोत्सवको अवसरमा एनसेलले नाइन्टिन फर नाइन्टिन सामाजिक पहलको पनि सुरुवात गरेको घोषणा गरेको छ । यसअन्तर्गत एनसेल फाउन्डेसनले सातवटै प्रदेशको समुदाय स्तरमा कुल १९ सामाजिक परियोजनाहरू सञ्चालन गर्नेछ । 

एनसेलले विभिन्न सामाजिक पहलहरूमा रु २ अर्ब भन्दा बढीको योगदान गरिसकेको छ । सामाजिक परियोजनामार्फत सामाजिक–आर्थिक विकासमा योगदान पुर्‍याएकाले एनसेल एक दर्जनभन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डहरूबाट सम्मानित भइसकेको छ । वुमन ट्याब्लोइड एउटा ग्लोबल बिजनेस म्यागेजिन हो जसले विभिन्न उद्योगहरूमा महिलाहरूले गरेको उपलब्धि, चुनौती र योगदानलाई हाइलाइट गर्दछ ।