Jun 08 2026

Jun 08 2026 | सोमवार, जेठ २५ गते २०८३

बाढीपीडितलाई सहयोग गर्न नेपालका दलहरूलाई चीनले दियो राहत सामग्री

चीनले नेपालका बाढीपीडितलाई राजनीतिक दलहरुमार्फत राहत सामग्री उपलब्ध गराएको छ । आज काठमाडौंमा एक कार्यक्रमकाबीच चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागले दलका प्रतिनिधिहरुलाई राहत सामग्री प्रदान गरेको हो । 

चीनको विदेश विभागले १ करोड ९० लाख बराबरको राहत सामग्री हस्तान्तरण गरेको काँग्रेस केन्द्रीय सदस्य मधु आचार्यले जानकारी दिए ।  काँग्रेसका मधु आचार्य, एमालेका गोपाल खनाल, नेकपा एकीकृतका रामकुमार भट्टराई र माओवादीका प्रतिनिधिले राहत ग्रहण गरे ।

अन्य दलमार्फत पनि राहत उपलब्ध गराउने चिनियाँ प्रतिनिधिले जानकारी दिए ।  राहत सामग्रीमा घरायसी कामका किट्स, ठुला टेन्ट, स्वास्थ्य उपकरण, मिनरल वाटर, खाद्यान्न लगायत छन् । आज प्रदान गरिएको सामग्री काठमाडौं १२ का पीडितलाई वितरण गरिने नेता आचार्यले जानकारी दिए ।

उनका अनुसार दलहरुको सिफारिसमा अन्य क्षेत्रका लागि समेत चीनले सहयोग प्रदान गर्नेछ । कार्यक्रममा चीनको  सद्भाव र सहयोगका लागि नेताहरूले धन्यवाद दिएका थिए ।