Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

कोशीको बाढी : कसैलाई डर, कसैलाई अवसर

सङ्गीता राई। केही दिनको अविरल वर्षाले देशभरको जनजीवन अस्तव्यस्त बन्यो । राजधानी काठमाडौँलगायत आसपासको क्षेत्रमा अत्यधिक वर्षाले ठूलो विपत्ति निम्त्यायो । सयौ‌ले ज्यान गुमाए भने अर्बौको  क्षति भयो । यस पटकको भीषण वर्षाले कोशी प्रदेशमा पनि ठूलो क्षति पुगेको छ । कोशीसहित विभिन्न नदीमा आएको बाढीले धेरैको उठिबास लगायो । कति पुल भत्किए, कति बस्ती उजाडिए । तर, नदी किनार क्षेत्रका केही सर्वसाधारणलाई भने कोशीमा आएको बाढी अवसर पनि बनेको छ ।

बराहक्षेत्र नगरपालिका–६ का वीरवल माझी कोशी नदीबाट दाउरा झिकेर परिवारको गर्जो टार्छन् ।  उनले वर्षायामको बेला वर्षभरि पुग्ने दाउरा कोशीबाट सङ्कलन गर्दै आएका थिए । सङ्कलित दाउरा आफूले बाल्ने र धेरै भएमा बेचेर गुजारा चलाउने उनको पुरानै पेसा हो । यस पटकको बाढीले धेरै दाउरा बगाएर ल्याएपछि एक वर्षलाई पुग्ने गरी जोहो गरेको उनले बताए । खाना पकाउनेदेखि आफूले पालेको १५ सुङ्गुर र पाँच  भैंसीलाई कुँडो पकाउन एक वर्षका लागि दाउराको जोहो भएकामा उनी ढुक्क छन् । 

‘यो वर्ष मनसुन सकिने बेलामा बाढी आयो । घर अलि पर भएकाले केही क्षति हुन पाएन’, माझीले भने, ‘यस पटकको जस्तो बाढी कोशीमा आएको मैले अहिलेसम्म देखेको थिइँन । दाउरा पनि धेरै ल्यायो ।’ तीन दिनको भारी वर्षाका कारण आएको बाढीले अहिले बराह क्षेत्रका धेरै जना दाउरा सङ्कलनमा व्यस्त छन् । 

माझी जस्तै मजदुरी गर्ने अधिकांश दसैं खर्च जुटाउन रातदिन नभनी दाउरा सङ्कलन गरिरहेका छन् । चतराको कोशी किनार क्षेत्रमा ज्याला मजदुरी गरेर जीविका चलाउँदै आएका उनीहरू अहिले कोशीबाट निकालेको दाउरा बेचेर आम्दानी गरिरहेका छन् ।  नदीको भेलले बगाएर ल्याएको दाउरा सङ्कलन गरेर जीविका चलाउनेको दैनिकी यतिबेला कोशी बगरमा बितेको छ । बाढीले किनाराका बासिन्दा त्रसित बने पनि माझी जस्ता कतिपयका लागि अवसर बनेको छ ।
  
बराहक्षेत्र–८ की शोभा चौधरी पनि कोशीबाट दाउरा निकालेर दसैँ खर्च जुटाइरहेकी छन् । नदीबाट दाउरा निकालेर बगरमा राखेको देख्दा धेरैले सजिलो ठाने पनि ज्यानको बाजी राखेर भेलबाट दाउरा निकाल्नु चुनौतीपूर्ण रहेको उनको भनाइ छ । उनी भन्छिन्, ‘सजिलो त कहाँ छ र दाउरा निकाल्न । निकै बल लगाउनु पर्छ । निकालेर राखेको दाउरा पनि कहिलेकाहीँ भेलले फेरि बगाइदिन्छ ।’ कोशीमा बाढी आएको बेला रातिदेखि किनारमा दाउरा सङ्कलन गर्नेको भीड लाग्छ । कोशीमा राम्रोसँग पौडिन सक्ने बलिया पुरुष डुङ्गा लिएर नदीको बीचसम्म पुगेर दाउरा सङ्कलन गर्छन् । महिला र पौडिन नआउनेहरु बगर छेउमा बसेर दाउरा सङ्कलन गर्छन् । 

जोखिम मोलेर कोशीबाट निकालिएको दाउरा बजारमा प्रति ट्याक्टर रु १२ हजारदेखि २० हजारसम्ममा बिक्री हुने गरेको बराहक्षेत्र–८ जितपुरका आशा चौधरी बताउँछिन् । कतिपयले बाढीले बगाएर ल्याएको दाउरा एक दिनमै तीन देखि चार ट्याक्टरसम्म सङ्कलन गर्न भ्याउँछन् । उनले भनिन्, ‘अरुबेला जङ्गलमा साइकल लिएर दाउरा खोज्न घण्टौं लाग्छ, अहिले बाढीले ल्याएको दाउरा सङ्कलन गर्न सके वर्ष दिनलाई ढुक्क ।’ पैसाको खाँचो परेको बेला दाउरा बेचेर पैसा पनि लिन सकिने उनी बताउँछिन् । 

कोशी नदीको बीचमा रहेको बराहक्षेत्र वडा नं ६ र ९ कोशीटप्पुमा यतिबेला दाउराको बिस्कुन सुकाएझैँ दृश्य देखिन्छ । कोशीटप्पुका बासिन्दाको आम्दानीको मुख्य स्रोत बाढीले बगाएर ल्याएको दाउरा हो । बाढीले दाउरा मात्र होइन, ठूला रुख पनि बगाएर ल्याउने गर्छ । त्यहाँका युवाहरुले समूह बनाएर ठूल्ठूला रुख चिरेर राम्रो काठ निकाली बढी मूल्यमा बिक्री गर्ने गरेको कोशीटप्पुका स्थानीयवासी सन्तोष राजवंशीले बताए । 

उनले भने, ‘माथिल्लो भेगमा वर्षा सुरु हुनासाथ यहाँका स्थानीय कोशीमा दाउरा निकाल्ने तयारीमा बसेका हुन्छौँ ।’ कतिपयले नदी किनारमा हुत्तिएर आउने माछा मारेर पनि आम्दानी गर्ने गरेका छन् । सप्तकोशी नदीको बराहक्षेत्र चतरा, सिसौलीघाट, महेन्द्रनगर, राजावास, कोशी टप्पुलगायतका कोशी किनारक्षेत्रका बासिन्दाले बाँसको टाँगोको सहायताले दाउरा निकाल्ने गर्छन् । धेरैजसोले समूह बनाएर डुङ्गाको प्रयोगबाट कोशी नदीको भङ्गालोमै पसेर दाउरा निकाल्ने गर्छन् । पूर्वी पहाडी क्षेत्रबाट नदीमा बाढीसँगै बगेर आउने उत्तिस, खयर, साल, चिलाउनेको सिङ्गै रुख र हाँगाबिँगा सङ्कलन गर्ने क्रम यहाँ वर्षौंदेखि चल्दै आएको छ ।