Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

चेपाङ गाउँका खेतमा झुल्यो लहलह धान

नारायण अधिकारी। नगरपालिकाको पहाडी गाउँ घुमेर कार्यालय आइपुगेका कालिका नगर प्रमुख विनोद रेग्मीले चेपाङ गाउँका खेतबारीमा लहलह धान फलेकामा खुसी व्यक्त गरेका छन् । प्रमुख रेग्मीको नेतृत्वको टोलीले लोपोन्मुख चेपाङ समुदायको बाहुल्यता रहेको तीनवटा वडाका जनतासँग प्रत्यक्ष भेटघाटपछि चेपाङ बस्तीमा धानका बाला झुली परिवर्तन आएकामा खुसी व्यक्त गरेको हो ।

चितवन जिल्लाको कालिका नगरपालिकाअन्तर्गत पहाडी क्षेत्रका तीनवटा वडामा चेपाङ समुदायको बाहुल्यता छ । त्यहाँ बसोबास गर्ने अधिकांश घर परिवारलाई वर्षमा तीन महिनाभन्दा बढी आफ्नै बारीको उत्पादनले खान पुग्दैन । पछिल्ला दिनमा नगरपालिकाले उत्प्रेरणा र सहयोग गरेपछि आत्मनिर्भर हुनका लागि पहाडी गाउँका चेपाङ समुदाय कृषि कर्ममा जुट्ने गरेका छन् । प्रमुख रेग्मीले भने, ‘पहिला बाँझो रहने पाखो बारीमा अहिले सिँचाइको व्यवस्था भएसँगै धानका बाला झुलेका छन्, लोपोन्मुख चेपाङ बस्तीमा यस्तो देख्दा आनन्दको अनुभव हुन्छ ।’

कालिका नगरपालिका–९, १० र ११ मा चेपाङ समुदायको उल्लेख्य बस्ती छ । ती बस्तीमा यदाकदा धान देखिए पनि धेरै बारी बाँझो हुन्थे । पछिल्ला दिनमा पानीको व्यवस्था गरी ती बारीमा धान बाली लगाउन थालेपछि स्थानीय जनताको जीवनस्तर सुधार भएको पाइन्छ । कालिका नगरपालिका–११ का वडाध्यक्ष कृष्णबहादुर प्रजा गाउँमा खेती किसानीमा ध्यान दिने बढेको बताउँछन् । नगरपालिकाले विभिन्न किसिमका तालिमसँगै बीउ, मल, सिँचाइलगायतका शीर्षकमा सहयोग गर्ने गरेको छ । बाली संरक्षणका कार्यक्रम अघि बढेको छ । उनले भने, ‘पहिला धान नलगाएका ठाउँमा पनि धान रोप्न थालिएको छ ।’

पहिलेको भन्दा खेतीपाती लाउने चेपाङ दाजभाइ–दिदीबहिनीको संख्या बढेको वडाध्यक्ष प्रजा बताउँछन् । यद्यपि बाढीले बर्सेनि माटो तथा जमिन बगाउने समस्या देखिएको उनी बताउँछन् । नगरपालिकाले अनुदानमा उन्नत बोकासँगै बाख्रा वितरण गर्ने गरेको छ । मौरीका घार वितरण गरेर आत्मनिर्भर बनाउन लागिएको उनी बताउँछन् । उनले भने, ‘चेपाङ समुदायले अर्काको लिने होइन, दिने हो, उनीहरूलाई नै सहभागी गराइदिन सक्ने हैसियत बनाउन आवश्यक कार्यक्रम सञ्चालन गरेका छौँ ।’

तीन वटा वडामा यकिन तथ्याङ्क नभए पनि १५ हजार हाराहारीमा चेपाङ जातिका मानिस रहेको उनको भनाइ छ ।नगरपालिकाका कृषि शाखा प्रमुख उत्तम पौडेल बागमती प्रदेशले चेपाङ समुदायको उथानका लागि ‘चिउरी–चमेरो संरक्षण’ कार्यक्रम सञ्चालन गरेको बताउँछन् । नगरपालिकाले छ सय बिरुवा चिउरी र रातो फूलसहित चमेरो रमाउने ‘बोटल ब्रस’ जातका एक सय बिरुवा वितरण गरेको छ ।

यसैगरी, चिउरीलगायत बिरुवाको नर्सरी, टनेल निर्माण, अदुवा, हलेदो जस्ता नगदे बालीका बीउ र बिरुवा वितरण गरेको छ । धान र मकैको बीउ वितरण गर्ने, तालिम तथा सचेतना कार्यक्रम सञ्चालन गर्ने, रैथाने बाली संरक्षण गर्ने, पोषण र करेसाबारी निर्माणसम्बन्धी तालिम दिएको कृषि शाखा प्रमुख पौडेल बताउँछन् । स्थानीयलाई तालिम र सहयोग उपलब्ध गराएसँगै कृषि पेसातर्पm आकर्षण बढेको छ । आफूहरु जनप्रतिनिधि भएपछि चेपाङ समुदायलाई आयआर्जनमा जोड्न विभिन्न कार्यक्रम सञ्चालन गरिएको नगर प्रमुख रेग्मी बताउँछन् ।

 नगरपालिकाले पोषणका लागि पशु–चौपाया उपलब्ध गराउँदै आएको छ । जुन ठाउँमा चेपाङ समुदायको बसोबास छ त्यही ठाउँमा उत्पादनमूलक कार्यक्रममा लाग्न सहयोग गरिएको प्रमुख रेग्मीको भनाइ छ । बाँदरको समस्या हुने भएकाले तिनीहरुले नखाने खेती प्रणालीमा जोड दिइएको छ । नगरपालिकाले बाख्रासँगै मौरीका घार वितरण गर्दै आएको नगर प्रमुख रेग्मीले जानकारी दिए ।

उनले थपे, ‘अहिले चेपाङ बस्तीमा जानुभयो भने लहलह झुलेका धानबाली देख्न सक्नुहुन्छ, त्यो हामी सबैको उपलब्धि हो ।’ धानखेतीका लागि बीउमा अनुदान, सुलभ मूल्यमा मलको व्यवस्थापन गरेर उत्साह थपेको उनी बताउँछन् । पहिला पहाडी क्षेत्रमा जग्गा बाँझै बस्ने गरेको पाखो जग्गा अहिले सुन्दर देखिने तरेली परेका खेतका गराका रुपमा देख्न सकिने प्रमुख रेग्मीले बताए । उनले थपे, ‘लोभलाग्दा गाँजसहित धानका बालाहरु झुलिरहेका  मज्जासँग देख्न सकिन्छ ।’ उत्पादन बढेको छ । रेग्मी भन्छन्, ‘आगामी दिनमा चेपाङ समुदायलाई माग्ने होइन दिने गरी कृषि क्षेत्रमा संलग्न हुने गरी कार्यक्रम ल्याउँदैछौ‌ ।’