Jun 08 2026

Jun 08 2026 | सोमवार, जेठ २५ गते २०८३

धवलागिरि आरोहणका लागि १४ जनाले लिए अनुमति

यस वर्षको शरद याममा म्याग्दीस्थित धवलागिरि हिमाल आरोहणका लागि १४ जनाले अनुमति लिएका छन् ।विश्वको सातौं अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्दछ । एउटा समूहका १४ जना पुरुष पर्वतारोहीले धवलागिरि हिमाल आरोहणका लागि अनुमति लिएका पर्यटन विभागले जनाएको छ । 

विभागका अनुसार धवलागिरि हिमाल आरोहणको अनुमति लिएकाबाट रु १६ लाख ८९ हजार ३० सलामी दस्तुर ९शुल्क० प्राप्त भएको छ । गत वसन्त याममा तीन समूहका २२ पुरुष र आठ जना महिलाले धवलागिरि हिमाल आरोहण गर्ने अनुमति लिएका थिए । सोबापत रु ७१ लाख ७० हजार सात सय ५० शुल्क सङ्कलन भएको विभागले जनाएको छ ।

आरोहण अनुमति लिएका आरोही, शेर्पा, पथप्रदर्शक, भरिया र सहयोगी आधार शिविर आउने तयारी गरेका इटली आधार शिविरका होटल व्यवसायी समेत रहेका धवलागिरि गाउँपालिका–४ का वडा सदस्य हरिप्रसाद तिलिजाले बताए । पर्यटन विभागको पछिल्लो विवरणअनुसार चालु यामका लागि नेपालका १० हिमाल आरोहणका लागि ५४ देशका ८८ महिला र दुई सय ७४ जना पुरुषले अनुमति लिएका छन् । उनीहरुबाट रु चार करोड ५२ लाख ४५ हजार आठ सय ४८ आरोहण शुल्क प्राप्त भएको छ ।

शरदमा सगरमाथा बाहेक आठ हजार मिटर अग्ला हिमाल आरोहण गर्न चाहने विदेशीले सलामी दस्तुर प्रतिआरोही नौ सय डलर तिर्नुपर्ने प्रावधान रहेको विभागले जनाएको छ । अन्य साना हिमालका लागि न्यूनतम एक सय २५ देखि अधिकतम चार सयसम्म सलामी दस्तुर तिर्नुपर्ने व्यवस्था छ ।  शरद् याममा सबैभन्दा बढी गोरखामा रहेको आठ हजार एक सय ६३ मिटर अग्लो मनास्लु हिमाल आरोहण गर्न २८ वटा समूहका तीन सय आठ जनाले अनुमति लिएका पर्यटन विभागले जनाएको छ । मनास्लुपछि धेरै आरोहणको अनुमति लिएको हिमाल धवलागिरि हो ।

पुथा हिमचुली नौ जना, अन्नपूर्ण चौथो पाँच, थाकर गो इस्ट चार, पुङ्गी पाँच, कुम्भकर्ण छ, अरनीको चुली तीन, अपी छ र मकालु पहिलो आरोहण गर्न दुई जनाले अनुमति लिएका छन् । सरदयाममा नेपालका हिमाल आरोहणका लागि सबैभन्दा बढी चीनका ६१ जनाले अनुमति लिएका विभागले जनाएको छ । गत वसन्त याममा नेपालका ३० वटा हिमाल आरोहणका लागि एक हजार दुई जनाले अनुमति लिएका थिए । उनीहरुले रु ६८ करोड ९९ लाख ७५ हजार तीन सय ११ आरोहण शुल्क तिरेको विभागको वेबसाइटमा उल्लेख छ ।