Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

भ्रष्टाचार मुद्दामा जेलमा रहेका विकल पौडेलविरुद्ध अर्को मुद्दा दायर

 भ्रष्टाचार मुद्दामा कारागारमा रहेका राष्ट्रिय सूचना प्रविधि केन्द्रका पूर्व कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध हुण्डी कारोबारसम्बन्धी अर्को मुद्दा दायर भएको छ । 

प्रहरीको केन्द्रीय अनुसन्धानले सरकारी वकिल कार्यालयमार्फत काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । भ्रष्टाचारको पैसा हुण्डीमार्फत अमेरिका पठाएको देखिएपछि उनीमाथि सीआइबीले अनुसन्धान गरेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अनुसन्धानमा हुण्डी कारोबार गरेको खुलेको हो । 

अख्तियारकै पत्रका आधारमा अनुसन्धान गरी मुद्दा दायर गरिएको सीआइबीका एसपी होवीन्द्र बोगटीले जानकारी दिए । उनीविरुद्ध एक करोड ४६ लाख ६६ हजार बिगो कायम गरी मुद्दा दायर भएको बोगटीले जानकारी दिए ।

सो पैसा उनले अमेरिकामा रहेकी श्रीमती एलिना बस्नेतलगायतमार्फत कारोबार गरेका थिए । बिगोको तीन गुणा जरिवाना र सात वर्षसम्म कैद सजाय माग गरी मुद्दा दायर गरिएको छ ।

पौडेलले भ्रष्टाचारको पैसा सिंगापुरको बैंकमा राख्नेदेखि अमेरिकामा घर किन्नेसम्म गरेको अख्तियारको अनुसन्धानमा खुलेको थियो ।