Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

ह्यारी केन बने बुन्डेस लिग इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडी

ह्यारी केन बुन्डेसलिगाको इतिहासमा सबैभन्दा बढी गोल गर्ने इङलिस खेलाडी बनेका छन् । गए  राति वेर्डर ब्रेमेनमाथि बायर्न म्युनिखले ५–० को रवाफिलो जित निकाल्दा केनले आफ्नो कीर्तीमानी ४१ औं गोल पुरा गरे ।

माइकल ओलिसे र जमाल मुसियालाले पहिलो हाफमा दुई गोलको अग्रता दिलाएको अवस्थामा टोलीका लागि केनले दोस्रो हाफमा तेस्रो गोल गर्दै कीर्तिमान बनाए । इङल्याण्डका कप्तानका लागि यो ऐतिहासिक गोल बन्न पुग्यो । उनले यसअघि जाडोन सान्चोको नाममा रहेको कीर्तिमान भंग गरे । सान्चोले बोरुसिया डर्टमन्डको लागि बुन्डेसलिगा खेल्दै ४० गोल गरेका थिए । पूर्व क्रिस्टल प्यालेसका विंगर ओलिसेले ६० औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दा टोलीले ४ गोल पुरा गरेको थियो ।

त्यसपछि सर्ज ग्नाब्रीले ६५ औं मिनेटमा पाँचौ गोल गरेका थिए । जितले भिन्सेन्ट कम्पानीको टोलीलाई चार खेलबाट चार जित निकाल्दै बुन्डेसलिगाको शीर्ष स्थानमा कायम राखेको छ । त्यसअघि केनले मंगलबार बायर्न म्युनिखले च्याम्पियन्स लिगमा डिनामो जाग्रेब विरुद्ध ९–२ को जितमा चार गोल गर्दै च्याम्पियन्स लिग वा युरोपेली कप इतिहासमा सबैभन्दा धेरै गोल गर्ने इंग्लिस खेलाडीको कीर्तिमान बनाएका थिए ।

अब, उनी बुन्डेसलिगामा पनि सबैभन्दा बढी गोल गर्ने इङलिस खेलाडी बने । सान्चोलाई डर्टमन्डको लागि दुई कार्यकालमा ४० बुन्डेसलिगा गोल गर्न १ सय १८ खेल खेल्नु परेको थियो । तर केनले ३६ खेलमै यो कीर्तिमान तोडे । सान्चोले गत सिजन टोनी वुडककको ३९ गोलको कीर्तिमान तोडेका थिए, उनले १९८० को दशकमा कोलोनका लागि १३१ खेलमा ३९ गोलको कीर्तिमान बनाएका थिए ।