आईसीसी क्रिकेट क्रिकेट विश्वकप लिग–२ को पहिलो खेलमा नेपाल नराम्ररी पराजित भएको छ । मंगलवार बिहान सम्पन्न भएको खेलमा नेपाललाई क्यानडाले १ सय ३ रनको फराकिलो अन्तरले पराजित गरेको हो । ५० ओभरको खेलमा नेपाल पहिलो पटक क्यानडासंग पराजित भएको हो ।
यसअघि भएका तीन वटा वनडे इन्टरनेशनलमा नेपाल विजयी हुँदै आइरहेको थियो । क्यानडाको किङ्ग सिटीमा खेलिएको यो खेलमा टस हारेर पहिला ब्याटिङ गर्दै क्यानडाले २ सय ५४ रनको लक्ष्य प्रस्तुत गरेको थियो । यो लक्ष्य पछ्याउन मैदानमा प्रवेश गरेको नेपाली टीम ४०।१ ओभरमै अल आउट हुँदै १ सय ५० रनमै सिमित भयो ।
नेपालका लागि करण केसीले २४ बलमा सर्वाधिक २७ रन, सन्दीप लामिछानेले १६ बलमा १ चौका तथा २ छक्काको सहयोगमा २२ रन तथा ओपनर आसिफ शेखले ३० बलमा २० रन बनाउनु बाहेक अन्य खेलाडीले खासै राम्रो योगदान दिन सकेनन् ।
ओपनर कुशल भुर्तेल १ रनमा आउट हुँदा कप्तान रोहित पौडेलले ५ रन बनाए । नेपालका यी भरपर्दा खेलाडीहरुलाई क्यानडाका फास्ट बलर डेलिन हेलिगरले आउट गरेका हुन् ।
नेपालका लागि गुलसन झाले १५ रन तथा भीम सार्कीले १८ रनयो योगदान दिए । क्यानडाका हेलिगरले १० ओभरमा ३१ रन दिएर सर्वाधिक ५ विकेट लिए । अंश पटेल र अखिल कुमारले समान दुई विकेट लिए भने साद विन जाफरले एक विकेट लिएका थिए ।
त्यसअघि क्यानडाले पहिला ब्याटिङ गर्दै ५० ओभरमा ८ विकेट गुमाएर २ सय ५३ रनको योगफल तयार पारेको थियो । नेपालले ४० ओभरसम्म उत्कृष्ट बलिङ गरे पनि अन्तिम १० ओभरमा भने १ सय ४ रन दिएको थियो ।
नेपालका लागि ललित राजवंशी तथा सोमपाल कामीले समान दुई विकेट लिए भने सन्दीप लामिछाने, गुलसन झा, रोहित पौडेलले समान एक विकेट लिए ।
विश्वकप २०२७ को छनोटको रुपमा रहेको लिग २ को यो खेलमा जीत हासिल गरेसंगै क्यानडा अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ भने नेपाल ४ खेलमा एक जीत तथा ४ हारका साथ अंकतालिकाको सातौं स्थानमा छ । नेदरल्यान्ड्स १२ अंकसहित तालिकाको शीर्ष स्थानमा छ भने यूएई अंक विहिन् हुँदै तालिकाको अन्तिममा छ ।