Jun 08 2026

Jun 08 2026 | सोमवार, जेठ २५ गते २०८३

पोखरा महानगरले पलेशालाई २ लाख २२ हजारसहित सम्मान गर्ने

पेरिस ओलम्पिक २०२४ मा नेपाललाई ऐतिहासिक पदक दिलाएकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई पोखरा महानगरपालिकाले नगदसहित सम्मान गर्ने भएको छ । 

महानगर प्रमुख धनराज आचार्यले पेरिस ओलम्पिकमा नेपाललाई पदक दिलाउन सफल खेलाडी  पलेशालाई नगद रु दुई लाख २२ हजार दुई सय २२ सहित सम्मान गर्न लागिएको बताए ।

पोखरा रङ्गशालामा आइतवार आयोजना गरिने एक कार्यक्रमका बीच पलेशालाई सो सम्मान प्रदान गरिने नगर प्रमुख आचार्यले जानकारी दिए । ‘नेपालले लामो समयदेखि ओलम्पिक गेम्समा सहभागिता जनाउँदै आएको छ तर अहिलेसम्म पदक तालिकामा नेपालको नाम चढेको थिएन, पलेशाले त्यसको अभावलाई सम्बोधन गर्ने स्थानमा पुर्याएकी छिन्, यो सिङ्गो मुलुकका लागि गर्वको विषय हो । पलेशालगायत खेलाडीहरूको प्रोत्साहन र हौसलाका लागि पोखरा महानगरपालिकाले सम्मान गर्न लागेको हो,’ उनले भने । 

पोखरा महानगर सदैव राष्ट्रको गहनाका रूपमा रहेका खेलाडीहरूका साथमा रहेको आचार्यले बताए । समग्र खेलकुदको विकास, पूर्वाधार निर्माण, खेलाडीहरूको खेल कौशल तथा क्षमता विकास, विद्यालय तहका विद्यार्थीहरूको खेलप्रतिको रुचिको प्रवद्र्धनलगायत गतिविधिहरू सञ्चालन गर्न पोखरा महानगरपालिका प्रतिबद्ध रहेको उनको भनाइ थियो । 

नेपाललाई पारा ओलम्पिकमा ऐतिहासिक पदक दिलाएकी  पलेशाले तेक्वान्दोको ५७ केजीभन्दा कम तौलको प्रतिस्पर्धामा सर्वियाली खेलाडीलाई पराजित गरी कास्य पदक जितेकी थिइन् । पलेसा ओलम्पिक प्रतिस्पर्धामा पदक जित्ने पहिलो नेपाली खेलाडी हुन् । विसं २०२१ को एसिया युथ पारा गेम्समा स्वर्ण जितेकी पलेशा २०१० देखि तेक्वान्दो खेल्न थालेकी थिइन् ।