Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

क्यानाडा भ्रमणमा रहेको नेपाली क्रिकेट टोली अभ्यास खेलमा ६६ रनले विजयी

विश्वकप लिग २ को त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि क्यानाडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले स्थानीय टोलीसँगको अभ्यास खेल जितेको छ ।

टोरोन्टोमा भएको अभ्यास खेलमा नेपालले स्थानीय एचपी जगुवार्सलाई ६६ रनले पराजित गरेको हो। २ सय ४८ रनको लक्ष्य पछ्याएको जगुवार्स ३९ ओभरमा १ सय ८१ रनमा अल आउट भयो। जगुवार्सका लागि अजयविर सिंहले सर्वाधिक ५५ रन जोड्दा नदिम मन्जराले २९ रन जोडे।

नेपालका लागि ललितनारायण राजवंशीले ४ र सन्दीप लामिछानेले ३ विकेट लिए। त्यस्तै करण केसी र कुशल मल्लले समान १-१ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४७।५ ओभरमा २ सय ४७ रन बनाएको थियो। विश्वकप लिग-२ को आफ्नो दोस्रो श्रृंखलामा नेपालले क्यानडा र ओमानसँग प्रतिस्पर्धा गर्दैछ। त्रिकोणात्मक ओडिआई सिरिज भदौ ३१ देखि असोज १० सम्म हुने छ।

त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालको पहिलो खेल भदौ ३१ गते क्यानडासँग र दोस्रो खेल असोज २ गते ओमानसँग रहेको छ। तेस्रो खेलमा नेपालले ६ असोजमा क्यानडाको सामना गर्दा ८ असोजमा ओमानसँग खेल्ने छ।

सबै खेल नेपाली समय अनुसार साँझ ७स्४५ मा हुने छ। ओडिआई सिरिज सकिएको २ दिन पछि सोहि टोलीबीचमा टी(२० सिरिज खेल्ने कार्यतालिका रहेको छ। सिरिज असोज १२ देखि १७ गते सम्म हुनेछ।