Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

कोरियाको आम्दानी ‘ड्रागन फ्रुट’मा लगानी

कोरियाबाट फर्केका काठेखोला गाउँपालिका–१ पालाका प्रतिमान थापा स्वादिलो फल ‘ड्रागन फ्रुट’को व्यावसायिक उत्पादनमा व्यस्त छन्। विसं २०७७ मा ड्रागन फ्रुटका एक हजार पाँच सय बिरुवा लगाएका थापाले १५ महिनामा फल टिप्न थालेको बताए ।

कोरोनाकालमा कोरियाबाट गाउँ फर्केका थापाले युट्युवमा भिडियो हेरेकै आधारमा गरेको ड्रागन फ्रुटले व्यावसायिक उत्पादन दिन थालेपछि उनी दङ्ग परेका छन् । पन्ध्र रोपनी जग्गामा रु २० लाख लगानी गरेर थालेका ड्रागन फ्रुटखेतीबाट हालसम्म एक हजार दुई सय केजी उत्पादन भइसकेको उाले बताए । उनले ड्रागन फ्रुटको व्यावसायिक खेती फलफूलमध्येकै सबैभन्दा सजिलो खेती रहेको अनुभव सुनाए । छोटो समयमै चार लाखभन्दा धेरै रकम ड्रागन फ्रुटबाट आम्दानी भइसकेको छ ।

“चितवनबाट एक हजार पाँच सय बिरुवा ल्याएर खेती सुरु गरेको थिएँ, अहिले ड्रागन फ्रुटलाई प्रतिकेजी रु चार सयमा बजार पठाइरहेको छु, बेनी, पोखरा र बागलुङ बजारमा ड्रागन फ्रुट खपत भइरहेको छ”, उनले भने । 

यो फल खेतीका लागि अन्य बालीलाई जस्तो धेरै मेहनत गर्नु नपर्ने र सुरुमा सिमेन्टको पोल बनाएर बिरुवा लगाइदिए राम्रोसँग सर्ने थापाले बताए । “एकपटक लगानी गरेपछि निरन्तर लगानी थप्न नपर्ने, उत्पादन हुने र फाइदाका हिसाबले ड्रागन फ्रुट बुहुगुणी भएकाले बजारको सम्भावना अत्यधिक छ”, थापाले भने, “जेठदेखि उत्पादन सुरु भएको फल १५ दिन बिराएर मङ्सिरसम्म टिप्न पाइन्छ, मैले लगाएको रातो  ड्रागन हो ।”