Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

नेपाली फुटबल खेलाडीहरुलाई प्रशिक्षणका लागि स्पेन लैजान्छुः प्रस्तावित राजदुत नेपाल

स्पेन अधिराज्यका लागि प्रस्तावित राजदुत सनिल नेपालले आफू राजदुत नियुक्त भए नेपाली फुटबल खेलाडीहरुलाई प्रशिक्षणका लागि स्पेन लैजाने बताएका छन् ।

बिहीबार संसदीय सुनुवाई समितिको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै प्रस्तावित राजदुत नेपालले स्पेनमा विश्वकै चर्चित फुटबल क्लवहरु रहेको उल्लेख गर्दै विभिन्न क्लवहरुसँग सहकार्य गरेर नेपालको फुटवल विकास गर्न लागि पर्ने बताए । उनले नेपाली खेलाडीहरुलाई प्रशिक्षणका लागि स्पेन लैजाने र स्पेनका खेलाडीहरुलाई पनि नेपाल ल्याउने बताए । उनले खेल पर्यटनको सम्भावनाको खोजी गर्ने बताए ।

उनले विश्वविद्यालयहरु र नेपाली संघसंस्थाको समन्वयमा स्पेनबाट नेपालमा स्वयंसेवी पर्यटक भित्राउने पनि उल्लेख गरे । उनले भने – ‘संसारकै चर्चित फुटबल क्लवहरु रियल क्याड्रिड र बार्सिलोना जस्ता फुटबल क्लवहरु रहेको देश हो स्पेन । स्पेनमा साना ठूला गरी २० हजार भन्दा बढी फुटबल क्लव रहेको र करिव १० लाख रजिष्ट्रर खेलाडीहरु रहेका छन् । विभिन्न क्लवहरु सँगको सहकार्यमा नेपालको फुटबल विकासका लागि नेपाली खेलाडीहरुलाई प्रशिक्षणका लागि स्पेन लैजाने र त्यहाँका खेलाडीहरुलाई नेपाल ल्याउने लगायतका खेल पर्यटनको सम्भावनाको खोजी गर्ने ।

विश्वविद्यालयहरु र नेपाली संघसंस्थाको समन्वयमा स्पेनबाट नेपालमा स्वयंसेवी पर्यटक भित्र्याउने । वैदेशिक रोजगारीका दृष्टिले स्पेन नेपालीहरुका लागि नयाँ गन्तव्य बनिरहेको छ । वैदेशिक रोजगारीलाई व्यवस्थित, सुरक्षित र मर्यादित गराउन स्पेन सरकारसँग श्रम सम्झौताका लागि पहल गर्ने । श्रम स्वीकृति नलिई स्पेन गएकाहरुलाई श्रम स्वीकृतिका लागि सहजीकरण गरिदिने ।’

प्रस्तावित राजदुत नेपालले स्पेन वैदेशिक रोजगारीका दृष्टिले नेपालीहरुका लागि नयाँ गन्तव्य बनिरहेको भन्दै स्पेन सरकारसँग श्रम सम्झौताका लागि पहल गर्ने बताए । उनले श्रम स्वीकृति नलिई स्पेन गएकाहरुलाई श्रम स्वीकृतिका लागि सहजीकरण गरिदिने पनि बताए ।