प्रधानसेनापति अशोकराज सिग्देलले नव नियुक्त अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । आज बुधबार जंगी अड्डामा आयोजित एक कार्यक्रमबीच प्रधानसेनापति सिग्देलले ४८ जना नव नियुक्त अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

सैनिक प्राड सेवा, विविध सेवा अन्तर्गत लेखा र प्राविधिक सेवामा रिक्त रहेका अधिकृत पदहरुमा खुल्ला तथा समावेशी र आन्तरिक प्रतिस्पर्धाबाट छनौट भएका प्राड उपसेनानी ३ जना, लेखा उपसेनानी ७ जना र प्राविधिक उपसेनानी ३८ जनाले दर्ज्यानी चिन्ह पाएका छन् ।

नेपाली सेनाका रथीवृन्द, अधिकृतहरूका साथै नव नियुक्त अधिकृतहरूका परिवारको उपस्थिति रहेको कार्यक्रममा प्रधानसेनापतिले नव नियुक्त अधिकृतहरूलाई बधाई दिँदै सैनिक जीवनमा सफलताको लागि शुभकामना व्यक्त गरेका छन् ।