Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

ग्लोबल आईएमई बैंकले ल्यायो बालबालिका तथा किशोरकिशोरीलक्षित जुनियर एप

ग्लोबल आईएमई बैंक लिमिटेडले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिका तथा किशोरकिशोरीलाई लक्षित गरी ग्लोबल जुनियर एप सार्वजनिक गरेको छ । बैंकले बालबालिकामा सानै उमेरदेखि असल वित्तीय बानीको विकास गर्न यो एप सार्वजनिक गरेको हो ।

बैंकले यो जुनियर एप १२ देखि १७ वर्षसम्मका बालबालिका र किशोरकिशोरीलाई आफैँ डिजिटल बैंकिङ्गको अनुभव लिनेगरी ल्याएको हो । यस एपमार्फत तोकिएको उमेर समूहका उनीहरूले बचत गर्ने बानीको विकासका गर्ने विश्वास लिइएको छ,’ बैंकद्वारा आइतवार जारी विज्ञप्तिमा भनिएको छ, ‘साथै अभिभावकको निगरानीमा आफ्नो बचत रकमलाई खर्च गर्न सक्नेछन् ।’

यो एपमार्फत बालबालिकाले बचत गर्न तथा आफूलाई आवश्यक परेको बेला बचतको रकम खर्च गर्न सक्नेछन् । ‘यसले गर्दा बालबालिकामा आर्थिक जिम्मेवारीको समेत विकास हुनेछ,’ विज्ञप्तिमा जनाइएको छ, ‘साथै आमाबाबुको निगरानी र मार्गदर्शनमा बालबालिकाका लागि ग्लोबल जुनियर एपमार्फत नवीनतम् वित्तीय सिकाइको अनुभव प्रदान हुने विश्वास बैंकले लिएको छ ।’

यो एपमा अभिभावकको पूर्ण नियन्त्रण रहनुका साथै बालबालिकामा वित्तीय व्यवस्थापनसम्बन्धी क्षमता विकासका लागि सुरक्षित वातावरणसमेत रहेको बताइएको छ ।

ग्लोबल जुनियर एप १२ देखि १७ वर्षका प्रयोगकर्ताहरूका लागि डिजाइन गरिएको प्लेटफर्म हो । यो एप बालबालिका र किशोरकिशोरीले प्रयोग गर्ने मोबाइलमा डाउनलोड गरी ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ता अभिभावकको समन्वयमा सजिलै सुचारु गर्न सकिन्छ ।

ग्लोबल जुनियर एपमा ब्यालेन्स हेर्न, ट्रान्जेक्सन इन्क्वारी गर्न र क्यूआर कोडमार्फत भुक्तानी गर्नेजस्ता सुविधाहरू उपलब्ध छन् । यो एप डाउनलोड गरेर पहिलो वर्षका लागि निःशुल्क रुपमा प्रयोग गर्न सकिने बैंकले जनाएको छ । आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न किसिमका समयसान्दर्भिक योजना ल्याएर ग्राहकलाई लावान्भित गर्दै आएको छ ।

ग्लोबल आईएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकका ३५४ शाखा कार्यालय, ३७९ एटीएम, २५५ शाखारहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १ हजार १०० भन्दा बढी सेवा केन्द्र रहेका छन् ।