Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

तरकारी बेचेर जीविकोपार्जन गर्दै महिला

कृषि पेसामा संलग्न थारू महिला तरकारी बेचेर जीविकोपार्जन गरिरहेका छन् । लमही नगरपालिका–४ घुम्नाकी दुखराजी चौधरी दैनिक तरकारी बिक्री गर्न लमही बजार पुग्ने गर्छिन् ।

आठ कट्ठा जमिनमा खेती गरेकी दुखराजी बारीमा उत्पादन भएका तरकारीको भारी बोकेर बिक्री गर्न लमही बजार आउने गरेको अनुभव सुनाइन् । उनले बारीमा फलेका तरकारी बजारमा बिक्री गर्न दौँतरीसँग बिहान ५ बजे गाउँबाट निस्कने गरेको बताइन् ।  

“लमही बजार पुग्दासम्म खाना पकाउने बेला भइसकेको हुन्छ । त्यही मौका छोपेर बजारका टोलटोल घुमेर तरकारी बिक्री गर्ने गर्दछौँ । तरकारी बिक्रीबाट भएको आम्दानीले बजारबाट घर जाँदा आवश्यक सामग्री खरिद गरेर फर्किन्छु । कृषि पेसा र तरकारी बिक्रीबाट जीविकोपार्जन भइरहेको छ”, उनले भनिन् ।

बजारका घरघरमा पुगेर तरकारी बेच्दा दुःख हुने अनुभव सुनाउँदै दुखराजीले स्वरोजगार बनेर आम्दानी भएकाले आर्थिक अभाव भने नरहेको उनको भनाइ छ । “घर र अन्य दैनिकी सञ्चालनका लागि तरकारी बेचेर आम्दानी भइरहेको छ । काम गर्दा दुःख भए पनि आर्थिक अभाव भएको छैन”, उनले भनिन् ।

 उनी जस्तै लमही–३ मजगाउँ निवासी ५३ वर्षीया कैलासपति चौधरी पनि तरकारी बिक्री गर्न दैनिक लमही बजार आउछिन् । तरकारी बिक्री गरेर जीविकोपार्जन गर्दै आएकी उनले भनिन्, “तरकारी बिक्री गरेर घरखर्च जुटाउनुपर्छ, टाढा भए पनि तरकारी बेच्न सधैँ लमही आउँछु ।” मौसमअनुसार उत्पादन भएका तरकारीसँगै आर्थिक आम्दानी गर्ने उद्देश्यले यहाँका महिला बजारसम्म आउने गरेका छन् । यसरी दैनिक तरकारी बिक्रीबाट रु छ सयदेखि रु एक हजार पाँच सयसम्म आम्दानी हुने गरेको कैलासपतिले जानकारी दिए ।

बजारमा तरकारी डुलाएर बेच्दा राम्रो मूल्य पाइने मजगाउँ निवासी शारदाकुमारी चौधरीले बताइन्। व्यापारीलाई दिँदा मूल्य कम पाइने भएकाले आफैँले तरकारी बोकेर बजार पु¥याउने गरेको उनको भनाइ छ । “बजारमा आफैँ गएर बिक्री गर्दा आम्दानी राम्रो हुन्छ, तरकारीखेतीमा लागेको मेहनत र मूल्य पनि उठ्छ”, उनले भनिन् ।

तरकारी बिक्रीबाट घरखर्चसँगै छोराछोरीको पढाइ खर्च जुटाउने गरेको शारदाकुमारीले बताइन् । तरकारी बिक्री गर्ने निश्चित र व्यवस्थित ठाउँ  भएमा व्यावसायिक तरकारी बिक्री गर्ने महिलालाई सहज हुने उहाँले उल्लेख गरीन् ।  

“बजारमा डुलेर तरकारी बिक्री गर्दा घाम, पानी, जाडो भन्न पाइँदैन । व्यवस्थित हाट वा तरकारी बिक्री स्थल भएमा घरघर डुल्ने झन्झट अन्त्य हुने थियो । स्थानीय सरकारले किसानलाई प्रोत्साहन गर्न पनि कृषि उपजको सहज बजारीकरणमा सहयोग गर्नु आवश्यक छ”, शारदाकुमारीले भनिन् ।

छ कट्ठा खेतमा तरकारीखेती गरेको भन्दै उहाँले उत्पादन भएको कृषिउपज आफैँ बजारसम्म लगेर बिक्री गर्दै आएको बताइन् । तरकारीबाट भएको आम्दानीले जीविकोपार्जन गर्न सहज भएको उनको भनाइ छ ।

उनीहरु मात्र होइन, बजार आसपासमा रहेका धेरै महिला दैनिकजसो तरकारी बिक्रीका लागि बजारसम्म आउने गर्छन् । तरकारी बिक्री गरेर आम्दानी भएको रकमले घर व्यवहार चलाउँदै आएको उनीहरुले बताइन् ।