Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

सामाजिक सञ्जाल र साइबर सुरक्षासम्बन्धी विधेयक चाँडैः सञ्चारमन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकार सामाजिक सञ्जाल संचालन, प्रयोग तथा नियमनसम्बन्धी र साइबर सुरक्षासम्बन्धी विधेयकमाथि काम गरिरहेको बताएका छन् ।  आज सोमबार राष्ट्रिय समाचार समितिको २४सै घण्टा समाचार सेवा कार्यक्रमको प्रारम्भ गर्दै मन्त्री गुरुङले एकसय दिनमा गर्नुपर्ने कामहरुको सूची सार्वजनिक गर्दै उक्त विधेयकहरुका लागि अर्थ तथा कानून मन्त्रालयसँग समेत सहमति मागिसकेको बताए ।

उनले भने, ‘प्रधानमन्त्रीज्यूले हामीसँग दुईवटा करारनामा गर्नुभएको छ । एकसय दिनमा गरिसक्नुपर्ने कामहरुको सूची दिनुभएको छ । मुख्यगरी सञ्चार मन्त्रालयका ६ वटा काम छन् । सामाजिक सञ्जालको प्रयोग र नियमनसम्बन्धि विधेयक मन्त्रिपरिषद्मा पेश गर्ने, सूचना प्रविधि तथा साइबर सुरक्षासम्बन्धी विधेयक, दुरसञ्चारसम्बन्धि विधेयक, राष्ट्रिय आमसञ्चार विधेयक, चलचित्र विधेयक (संशोधन गर्नुपर्ने), सरकारी इमेल प्रयोग सम्बन्धि कार्यविधि तयार गरि छलफलका लागि सार्वजनिक गर्ने भनेर सम्झौता गरिएको छ । यी विधेयकहरुमध्ये पनि सामाजिक सञ्जाल सम्बन्धि विधेयक र साइबर सुरक्षा विधेयक भाद्र मसान्तसम्म पुर्याउनुपर्ने भनिएको छ । अरु कामहरु असोज मसान्तसम्म गरिसक्नुपर्दछ ।’

प्रधानमन्त्री ओलीले ब्रोडब्याण्ड नीतिको मस्यौदा तयार गर्ने, कागज रजिस्ट्रारको अवधारणा कार्यन्वयन गर्न एकिकृत कार्यालय व्यवस्थापन प्रणाली असोज मसान्तसम्म थप ३० वटा कार्यालयमा पुर्याउनुपर्ने सीमा तोकेको मन्त्री गुरुङको भनाइ छ ।