Jun 08 2026

Jun 08 2026 | सोमवार, जेठ २५ गते २०८३

‘प्यारालाइसिस’ एञ्जिलाको उपचारमा सहयोगको अपिल

देब्रेतिरको हात र खुट्टा नचल्ने समस्याबाट बिरामी खोटाङका बराहपोखरी गाउँपालिका–१ बराहपोखरीकी एञ्जिला परियारको उपचारका लागि सहयोग जुटाउन अभियान थालिएको छ ।

मस्तिष्कघातबाट प्यारालाइसिस भएपछि हाल नोबेल अस्पताल विराटनगरमा आइसीयूमा राखेर उपचार गराइरहेकी एञ्जिलाको सहयोगार्थ बाराहापोखरी सेवा समाज खोटाङ, काठमाडौँको पहलमा सहयोग संकलन सुरु गरिएको हो ।

विपन्न परिवारका एञ्जिलाको उपचारका लागि अझै रु सात लाख उपचार खर्च लाग्ने भएपछि भदौ ९ गतेदेखि ‘एञ्जिला परियार बचाऔँ अभियान’ थालिएको अभियानका संयोजक इन्द्रबहादुर लिमेलले बताए । एञ्जिलालाई उदयपुरको गाईघाट हुँदै विराटनगर पुर्‍याएपछि मस्तिष्कघात भएको र त्यही कारण देब्रेहात र खुट्टा नचल्ने समस्या भएको पुष्टि भएको थियो ।

एञ्जिलाको साउन ३२ गतेदेखि नोबेल अस्पतालमा आइसीयूमा राखेर उपचार भइरहेको बुबा मनोज परियारले जानकारी दिए । घरकी माइली छोरी एञ्जिलालाई सुरुमा केही दिन ज्वरो आएको थियो । औषधोपचार गरेपछि ठिक भएको थियो । पुनः तीनरचार दिनपछि कडा ज्वरो आएपछि देब्रे हात र खुट्टा चल्नै नसक्ने अवस्थामा पुगेको छ’, उनले भने, ‘एञ्जिलालाई अझै दुई हप्ता आइसीयूमा राखेर उपचार गर्नुपर्ने उपचारमा संलग्न स्वास्थ्यकर्मीले बताएका छन् । घरको अर्थावस्थाले धान्ने स्थिति छैन । त्यसैले छोरीको जीवनरक्षाका लागि सबैसँग हात फैलाएका हौँ ।’

एञ्जिलाको सहयोगार्थ स्वदेशदेखि विदेशसम्म अभियान्ता तोकिएको संयोजक लिमेलले बताए ।