Jun 08 2026

Jun 08 2026 | सोमवार, जेठ २५ गते २०८३

हातमा जग्गाधनीपुर्जा, नक्सामा भेटिँदैन

अर्घाखाँचीको शीतगङ्गा नगरपालिका–१२ का स्थानीयले सयौँ वर्षदेखि आफूले भोगचलन गरेको जग्गाको नयाँ जग्गाधनीपुर्जा (लालपुर्जा) पाउन सकेका छैनन् । विसं २०४० र २०५६ मा नापी भएर पुर्जा पाएको जग्गाको अर्घाखाँचीमा भएको पुनःनापीबाट आफूहरूले पुर्जा पाउन नसकेको भन्दै सयौँ जनाले जिल्ला प्रशासन कार्यालयमा पुगेर सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यायलाई ज्ञापनपत्र बुझाएका छन् ।

२०५७ मा पाएको पहिलाको पुर्जा आफूहरूसँगै रहेको र सोही पुर्जाका आधारमा नगरपालिकामा तिरो तिर्दै आएको भए पनि पुर्जा पाउन नसकेपछि जग्गा भएर पनि सुकुम्बासीजस्तै भएको शीतगङ्गा–१२ खुम्चीकोटका स्थानीय देवेन्द्र पौडेलले बताए । सयौँ वर्षदेखि चर्चेको पहिलाको जग्गाधनीपुर्जा देखाउँदा समेत पुर्जा पाउन नसकेको उनको गुनासो छ ।

वडा कार्यालय, नगरपालिकाको कार्यालय, विशेष नापी कार्यालयलगायत कार्यालयमा पटकपटक ध्यानाकर्षण गराउँदा पनि आफूहरूको माग सुनुवाइ नभएपछि कपिलवस्तुको सिमानाबाट स्थानीय जनता हजारौँ रुपैयाँ खर्च गरेर प्रमुख जिल्ला अधिकारीसमक्ष पुगेका थिए । सहज तरिकाबाट पुर्जा पाउनुपर्ने नारा लगाउँदै उनीहरू जिल्ला प्रशासनमा पुगेका थिए ।

शीतगङ्गा नगरपालिका–१२ को खुम्चीकोट, पिरापानी, खलेयाखर्क, दमारे, धौलेटाकुरा, दरबारे, टिकरी, जलुके, टर्रेलगायतका झण्डै एक सय ५० जनाले तिरो तिरेको रसिद र पुरानो जग्गाधनीपुर्जा देखाउँदा पनि नयाँ पुर्जा पाउन नसकेको पिरापानीका स्थानीय खगेश्वर गैरेले बताए ।

केही व्यवसाय गर्नका लागि जग्गा बैंकमा धितो राख्नुपर्छ । पुरानो पुर्जाले हुँदैन, नयाँ पुर्जा पाउन सकिएन । जसले गर्दा केही व्यवसाय गर्न समस्या भएको स्थानीय देवीराम गैरेले गुनासो गरे । विशेष नापीको टोलीले जग्गा नापिसकेको भए पनि नयाँ पुर्जा पाउन नसकेको बताए । आफूहरूले भोगचलन गरेको जग्गाको साविककै पुर्जाअनुसार नयाँ पुर्जा सरकारले दिनुपर्ने स्थानीयको माग रहेको पिरापानीका राजेश गरैले बताए ।

सशस्त्र द्वन्द्वको समयमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले २०५९ र २०६१ सालमा गरेको सदरमुकाम आक्रमणमा जग्गासम्बन्धी सबै कागजात जलेर नष्ट भएका थिए । कागजात नष्ट भएको अर्घाखाँची जिल्लामा विशेष नापी कार्यालय स्थापना गरेर जग्गा नापजाँचको काम सुरु भएको थियो ।

साविक २०४० सालमा एकसरो नापी भएको नक्सा र अहिले त्यस स्थानका स्थानीयले भोगचलन गरेको जग्गाको नक्सा नमिलेपछि पुर्जा दिन नसकेको विशेष नापी कार्यालयका प्रमुख डिल्लीराज भण्डारीले बताए । ुस्थानीयले अहिले भोगचलन गरेको जग्गा छ, नापी पनि पुनः गरेका छौँ ।  तर २०४० सालको नापीको नक्सामा उहाँहरूको कित्ता देखिँदैन, जङ्गल देखिएकाले पुर्जा दिनसकेका छैनौँ,ु उनले भने ।