Jun 08 2026

Jun 08 2026 | सोमवार, जेठ २५ गते २०८३

सिन्का बेचेर जीवन निर्वाह गर्दै ७९ वर्षीय धनबहादुर

इच्छाशक्ति भएमा उमेरले नछेक्ने उदाहरण बनेका छन्– भोजपुर नगरपालिका–११ आम्तेकका धनबहादुर राई । उमेरले ७९ वर्ष पुगेका राई बाँसको सिन्का बनाएर भोजपुर बजारसम्म बिक्रीका लागि ल्याउने गर्छन् ।

धनबहादुर मात्र होइन, उजका दाजु रणबहादुरले पनि पहिला बाँसबाट सिन्का बनाएर बिक्री गर्दै आइररेका छन् । धनबहादुरले भने 'विगतमा १० देखि २० मुठाका दरले सिन्का बेच्ने गरेको थिएँ, अहिले भने एक सय २० सम्ममा बिक्री गर्दै आइरहेको छु ।' सिन्का बनाउन धेरै समय र मेहनत लाग्ने गरेको उनले बताए । उनले भने, 'असी वर्ष पुग्न लाग्दा पनि पुरानो पेसा गरिरहेको छु, बजारमा ल्याएको सिन्का सबैले किन्ने गरेका छन् । धैरेले त तराईतिर लान पनि ल्याइदिनु है बाजे पनि भन्छन् ।'

आफ्नै घर नजिकै बाँसको झ्याङ रहेको र अन्यकोबाट किन्नु नपर्ने भएकाले पनि आफूहरू सानैदेखि नै यो पेसामा लागेको धनबहादुर सुनाउँछन् । उनी भन्छन्, 'अहिले त खाली युवाहरु विदेश जान तम्सिन्छन् तर, जोशजाँगर भए त गाउँघरमै पनि त्यत्तिकै त बस्नु पर्दैन।' 

घरबाट १६ मुठा सिन्का लिएर बिक्रीका लागि सदरमुकाम आएका उनले केही समयमा नै ती सिन्का बिक्री गरिसकेको बताए । उजले ती सिन्का बिक्रीबाट रु एक हजार पाँच सयमाथि कमाएको बताए । सिन्का बिक्रीबाट राईले घरका लागि नुन, तेल किन्न सहजता भएको बताए । यस्तो काममा अहिलेका युवाले चासो नदेखाउँदा अबका दिनमा सिन्का पाउन मुस्किल हुने उनको भनाइ छ ।

उनी भन्छन्, 'अहिलेसम्म त भनेकाहरूलाई मैले सिन्का ल्याइदिएको छु, अब मैले छाडेपछि समस्या हुन्छ, त्यसपछि धार्मिक कार्यमा प्रयोग हुने दुनाटपरी कसरी बनाउने ।'