Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

एएफसी वुमन्स च्याम्पियन्स लिगमा रेखा पौडेलको पहिलो गोल

एएफसी वुमन्स च्याम्पियन्स लिगमा नेपाली खेलाडी  रेखा पौडेलले पहिलो गोल गरेकी छन् । यसै सिजन युएईको अबुधावी कन्ट्री क्लबमा आबद्ध भएकी रेखाले आइतबार एसियाली फुटबल महासंघ (एएफसी) को सबैभन्दा ठूलो क्लब प्रतियोगिता एएफसी वुमन्स च्याम्पियन्स लिगको डेब्यू खेलमा गोल गर्दै इतिहास बनाएकी हुन् । 

आइतबार नै लिगमा डेब्यू गरेको नेपाली क्लब एपिएफ पराजित भएको थियो । रेखाले युएईको क्लब अबुधावीका लागि लाओसको योङ इलिफन्ट्सविरुद्ध गोल गरेका हुन् । ४६ मिनेटमा उनले टोलीका लागि दोस्रो गोल गरेकी थिइन् । डेब्यू खेलमै गोल गर्न सफल रेखाले टोलीका साथीलाई धन्यवाद दिँदै खुसी व्यक्त गरेकी छिन् । प्रारम्भिक चरणको समूह ‘ए’ मा रहेको अबुधावीले अब म्यानमारको म्यावाडी र साउदी अरेबियाको अल नासेरसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपालको एपिएफ क्लब भने समूह ‘सी’ मा छ । पहिलो खेलमा उज्वेकिस्तानको पिएफसी नासाफ १–० गोलले पराजित भएको एपिएफले बुधबार मलेसियाको सबा एफएसँग खेल्नेछ । सन् २०१९ मा नेपाली राष्ट्रिय टोलीमा डेब्यू गरेकी रेखाले गत महिना युएईको अबुधावी काउन्ट्री क्लबसँग सम्झौता गरेकी थिइन् । अबुधावी युएईको महिला लिगको सर्वाधिक सफल टोली हो । साविक विजेता उसले १० पटक उपाधि जितेको छ । नेपाल पुलिस क्लबबाट घरेलु फुटबल खेल्ने रेखाले गत वर्ष भारतको महिला लिगमा उडिसाबाट खेलेकी थिइन् ।