पोखरा महानगरपालिका–१७ को घारीपाटन चोकमा आज शुक्रबार दिउँसो स्कुल बस अनियन्त्रित भई दुर्घटना एक जना घाइते भएका छन् ।
पोखरा–८ मा रहेको न्यू मोडल सेकेण्डरी स्कुलको ग १ क ४६६१ नम्बरको बस दुर्घटना हुँदा चालक पोखरा–९ बस्ने ५४ वर्षीय दलबहादुर गुरुङ घाइते भएका हुन् । दिउँसो ३ बजेतिर अनियन्त्रित बनेको बसले मोडमा तीन ट्याक्सीलाई ठक्कर दिएको थियो । बसको ठक्करपछि रोडबाट तल खसेको ट्याक्सीमाथि नै बस समेत खसेको प्रहरी निरीक्षक किरण थापाले जानकारी दिए ।
‘माथिल्लो रोडबाट तल्लो रोडमा बस खसेको थियो । तीन ट्याक्सीलाई पनि झारेको थियो’, उनले भने । विद्यालय बिदा भएपछि विद्यार्थी लिएर आएको बस दुर्घटना भए पनि विद्यार्थीहरु भने सकुशल छन् । चालक गुरुङको शरीरमा बाहिरी चोटपटक देखिएको छैन ।
उनले छातीमा ठोक्किएको बताएको र गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरी निरीक्षक थापाले बताए । बसले ठक्कर दिँदा ग १ ज २९३४, ग १ज २२४१ र ग १ ज ४१८० नम्बरको ट्याक्सीमा क्षति भएको छ । स्कुल बस दुर्घटनामा दुई जनाको मृत्यु र २८ जना घाइते भएको तीन सातापछि पोखरामा फेरि अर्को स्कुल बस दुर्घटना भएको हो ।