तनहुँको आँबुखैरेनीमा आज शुक्रबार विहान भएको बस दुर्घटनाका घाइतेहरुलाई उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं लगिएको छ ।
तनहुँको आँबुखैरेनी गाउँपालिका २ ऐनापहरामा आज बिहान भारतीय नम्बर प्लेटको बस दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते भएकामध्ये गम्भीर १२ जनालाई नेपाली सेनाको एमआई १७ हेलिकोप्टरबाट उपचारका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको तनहुँका प्रहरी प्रमुख एसपी बीरेन्द्रबहादुर शाहीले जानकारी दिए ।
उनीहरूको उपचार त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा सुरु भएको छ । पोखराबाट काठमाडौं जाँदै गरेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङदी नदीमा खसेको थियो । दुर्घटनामा अहिलेसम्म १४ जनाको शव फेला परेको छ भने १७ जना घाइते छन् । अरुको खोजी कार्य जारी छ ।