Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

मर्स्याङ्दी नदीमा खसेर भएको बस दुर्घटनामा अहिलेसम्म २९ जनाको उद्धार (अपडेट)

तनहुँमा मर्स्याङ्दी नदीमा खसेर भएको बस दुर्घटनामा अहिलेसम्म २९ जनाको उद्धार गरिएको छ। पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको बस आँबुखैरेनी नजिक मर्स्याङ्दी नदीमा खसेको हो।

जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको जानकारी अनुसार उनीहरुको अवस्थाबारे अहिले केही खुलेको छैन। तर १५ जना घाइतेहरू रोइकराई गरिरहेको र १४ जना अचेत अवस्थामा रहेको प्रहरीले जानकारी दिएको छ। बसमा ४० जना सवार रहेको अनुमान गरिएको छ। 

ऐनापहरामा भएको बस दुर्घटनामा सशस्त्र प्रहरी बल नेपाल विपद व्‍यवस्थापन तालिम शिक्षालयबाट एसएसपी माधव पौडेलको कमान्डमा ४५ जनाको फौजले तीव्र  रूपमा उद्दार गरिरहेको हो। त्यस्तै, गोताखोरसहितको टोलीसमेत खोजी र उद्धार कार्यमा पुगिसकेको छ।

दुर्घटनास्थल अप्ठ्यारो भीर र तल नदी बगिरहेको कारण उद्दारका लागि डोरीको सहायताले नदी किनारमा पुग्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ। घाइते र हताहतीको संख्या यकिन हुन बाँकी छ। 

सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेना उद्धारमा खटिएको छ। पोखराबाट काठमाडौंका लागि छुटेको भारतीय बस आँबुखैरेनी गाउँपालिका २ ऐनापहरा नजिक सडकबाट मर्स्याङ्दी नदीमा खसेको हो।