Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

बझाङमा पहिरोले घर पुरिँदा एकै परिवारका चार जना बेपत्ता, ५ जनाको जिवितै उद्धार

बझाङमा पहिरोले घर पुरिँदा एकै परिवारका चार जना बेपत्ता भएका छन् । आइतबार राति बुङ्गल नगरपालिका–१० को टुमेडास्थित स्थानीय वीर बहादुर धामीको घर पुरिंदा ४ जना बेपत्ता भएका हुन् । ९ जना सदस्य रहेको उक्त घरमाथि राति १ बजे खसेको पहिरोले घर क्षतविक्षत बनाएको छ।

पहिरो जानेबित्तिकै गाउँलेको प्रयासले ५ जनाको जिवितै उद्धार गरिएको छ भने चार जना बेपत्ता भएको स्थानीय भरत महराले बताए। उद्धारका लागि अहिले झापा प्रहरी चौकीबाट प्रहरी टोली त्यसतर्फ खटिएको छ ।

स्थानीयहरू रातभर लागे पनि उद्धारमा कठिनाइ भइरहेको छ । सदरमुकाम चैनपुरमा नेपाल टेलिकमको कुनै सेवा नहुँदा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई सम्पर्क हुन सकेको छैन ।

बिरा धामी , उज्जल धामी, रोसन धामी, कमला धामी, शान्ति धामीको उद्धार भएको र उनीहरु सकुशल रहेका स्थानीयले जनाएका छन्। काली धामी, गोल्की धामी, आसिका धामी, लक्ष्मी धामी भने भेटिएका छैनन्। उनीहरुको उदार भैरहेको स्थानीयले बताए ।