Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

साफ च्यामिपयनशिप फुटबल: श्रीलंकालाई १–० गोलले हराउँदै नेपालको विजयी शुरुवात

२० वर्षमुनिको पुरुष साफ च्यामिपयनशिप फुटबल प्रतियोगितामा नेपालले विजयी शुरुवात गरेको छ। सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्सको खेल मैदानमा आज भएको उद्घाटन खेलमा श्रीलंकालाई १–० गोलले हराउँदै घरेलु टोलीले विजयी शुरुवात गरेको हो। 

नेपालको जितमा खेलको २३औँ मिनेटमा निराजन धामीले गरेको गोल नै निर्णायक बन्यो। निर्धारित ९० मिनेट र थपिएको ६ मिनेटको अतिरिक्त समयमा दुवै टोलीले थप कुनै गोल गर्न सकेनन्। जितसँगै नेपालले ३ अंक जोडेको छ। अहिलेसम्म साफ यू-२० का पाँच संस्करण आयोजना हुँदा नेपालले दुईपटक उपाधि जितेको छ। 

सन् २०१५ मा भएको प्रतियोगितामा नेपालले घरेलु मैदानमा नै भारतलाई हराउँदै उपाधि जितेको थियो।  निकै प्रतिस्पर्धात्मक रहेको उक्त खेलको निर्धारित समयमा दुवै टोली १–१ गोलको बराबरीमा रोकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। पेनाल्टी सुटआउटमा नेपालले भारतलाई ५–४ गोल अन्तरले पराजित गरेको थियो।

सन् २०१७ मा भुटानमा भएको च्याम्पियनशिपमा बंगलादेशलाई हराउँदै नेपालले उपाधि हात पारेको थियो। च्याम्पियनशिपमा नेपालसहित ६ राष्ट्रले प्रतिस्पर्धा गर्दै छन्। समूह ‘ए’ मा नेपाल, बंगलादेश र श्रीलंका रहेका छन् भने समूह ‘बी’ मा साविक विजेता भारत, माल्दिभ्स र भुटान रहेका छन्।

प्रतियोगिताअन्तर्गत भोलि सोमवार भारत र भुटानबीच प्रतिस्पर्धा हुनेछ।