सरकारले टिकटकमाथि प्रतिबन्ध लगाएपछि नेपालले ठुलो नोक्सानी ब्यहोर्नु परेको छ । टिकटक प्रतिबन्धका कारण क्याश सर्भर विस्थापित भई अन्तर्राष्ट्रिय ब्यान्डविथ आयात बढ्दा नौ महिनामा मुलुकले थप एक अर्ब ७८ करोड रुपैयाँभन्दा बढी गुमाउन पुगेको हो ।
सरकारले प्रतिबन्ध लगाए पनि भीपीएन तथा ओपन डीएनएसको सहयोगमा टिकटकको प्रयोग भने रोकिएको छैन । जसले गर्दा प्रतिबन्ध पछिको समयमा पनि नेपालमा यो सबैभन्दा बढी ब्यान्डविथ खपत गर्ने माध्यमहरूमा पर्छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार हाल नेपालमा सालाखाला कूल सवा दुई टीबीपीएस अर्थात् दुई हजार २५० जीबीपीएस ब्यान्डविथ भित्रिरहेको छ । जसमध्ये करिब २८ प्रतिशत अर्थात् ६३० जीबीपीएस ट्राफिक क्लाउडफ्लेयरको सर्भर मार्फत आइरहेको नेटवर्क सेवा प्रदायकहरू बताउँछन् । त्यसमध्येको अधिकांश (करिब ९० प्रतिशत) ट्राफिक टिकटकको रहेको क्लाउडफ्लेयरले अनौपचारिक रूपमा बताउने गरेको छ । एसिया प्रशान्त क्षेत्रको क्षेत्रीय इन्टरनेट एड्रेस रजिस्ट्री (एप्निक) को तथ्याङ्कमा क्लाउडफ्लेयर नेपालको सबैभन्दा धेरै प्रयोगकर्ता हुने आठौँ आईएसपी देखिनुले पनि यसलाई पुष्टि गर्छ ।
यसो हुनुको एउटै कारण हो, अधिकांश प्रयोगकर्ताले प्रतिबन्धित टिकटक चलाउन क्लाउडफ्लेयरको ओपन डीएनएस तथा भीपीएन एप्लिकेसन (1.1.1.1 + WARP) को सहारा लिनु । यो एप्लिकेसन गुगलको प्ले स्टोरमा नेपालमा अहिलेको समयमा सबैभन्दा धेरै डाउनलोड हुने एप मध्ये दोस्रो नम्बरमा छ ।अन्य भीपीएन तथा ओपन डीएनएस प्रयोग भए पनि अहिले नेपालमा प्रतिबन्धित टिकटक चलाउने करिब ९० प्रतिशत प्रयोगकर्ता यही क्लाउडफ्लेयर एपमा निर्भर रहेको इन्टरनेट क्षेत्रका जानकारहरूको विश्लेषण छ ।

क्लाउडफ्लेयरको ९० प्रतिशत इन्टरनेट ट्राफिक भनेको ५६७ जीबीपीएस हुन आउँछ । यसको दश प्रतिशत जति (करिब ५६ जीबीपीएस) टिकटकको ट्राफिक अन्य भीपीएन तथा ओपन डीएनएसमार्फत आइरहेको बताइन्छ ।त्यसो त इन्टरनेट सेवा प्रदायकहरूको संस्था आइस्पानले अन्य केही प्रदायकले टिकटक प्रतिबन्ध नगर्दा त्यसको असर समेत आफ्ना सदस्य संस्थालाई परेको भन्दै प्राधिकरणमा निवेदन समेत दिएका छ । प्रतिबन्ध कार्यान्वयन नगर्दा र प्राविधिक क्षमता अभावमा टिकटकलाई रोक्न नसक्दा हाल नेपालमा खपत भइरहेको टिकटकको कूल ट्राफिक मध्ये १५ प्रतिशत (करिब ११० जीबीपीएस) सोझै आइरहेको अनुमान छ ।
यस हिसाबले विभिन्न तवरबाट हाल नेपालमा भित्रिने कूल अन्तर्राष्ट्रिय ब्यान्डविथ मध्ये ७३३ जीबीपीएस टिकटकमा खपत भइरहेको देखिन्छ । जब कि एपमाथि प्रतिबन्ध लाग्नु अघि टिकटकले खपत गर्ने यस्तो ब्यान्डविथ १५० जीबीपीएसभन्दा कम रहेको इन्टरनेट एक्स्चेन्जका जानकार तथा इन्टरनेट प्राविधिकहरू बताउँछन् । उनीहरूका अनुसार तत्कालीन समयमा बाँकी ८० प्रतिशत टिकटक ट्राफिक लोकल सर्भर तथा क्याश सर्भरले धानिरहेको थियो । तर एपमाथिको प्रतिबन्धपछि टिकटकका क्याश सर्भर नेपालबाट फिर्ता भएका कारण त्यसका लागि आवश्यक सम्पूर्ण ट्राफिक अन्तर्राष्ट्रिय ब्यान्डविथ तर्फ शिफ्ट (सरेको) भएको हो ।
समग्रमा टिकटकले खपत गर्ने अन्तर्राष्ट्रिय ब्यान्डविथ प्रतिबन्ध लागे पश्चात् कूल मिलाएर करिब ५८७ जीबीपीएसले बृद्धि भएको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले पछिल्लो (जनवरी २०२४) विवरण अनुसार नेपाल भित्रिने ब्यान्डविथको औसत दर २.४६ अमेरिकी डलर रहेको बताए । देशमा सञ्चालनमा रहेका २३ ओटा नेटवर्क सेवा प्रदायकहरूले न्यूनतम १.२ डलरदेखि ४ डलरसम्ममा अन्तर्राष्ट्रिय ब्यान्डविथ खरिद गरिरहेका छन् ।
औसत दरको आधारमा हेर्ने हो भने प्रतिबन्ध पश्चात् टिकटकका कारण बृद्धि भएको ब्यान्डविथको मासिक मूल्य १४ लाख ७७ हजार ६६८९ अमेरिकी डलर अर्थात् आजको विनिमय दर अनुसार १९ करोड ८० लाख ९६ हजार रुपैयाँभन्दा बढी हुन आउँछ । टिकटकमाथि प्रतिबन्ध लागेपछिको नौ महिनामा यसरी कूल एक अर्ब ७८ करोड रुपैयाँभन्दा बढी रकम देशबाट बाहिरिएको हो ।