Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

सोलुखुम्बुको थामेमा भीषण बाढी, दूधकोशी किनाराका बासिन्दालाई सुरक्षित ठाउँमा जान आग्रह

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित थामे आसपास क्षेत्रमा भीषण बाढी आएको छ । जल तथा मौसम विज्ञान विभागले जोरसल्लेदेखि तल दूधकोसीको तटीय क्षेत्रमा हुनेहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । 

गाउँपालिकाले दूधकोसी नदी किनारका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सचेत र सुरक्षित स्थानमा अस्न आग्रह गरेको छ । सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी देवी पाण्डे (खत्री) ले दूधकोशीमा ठूलो बाढी आएको सूचनापछि तटीय क्षेत्रमा प्रहरी र सेनासमेत परिचालन गरिएको बताएकी छन् ।

प्रजिअ पाण्डेले खुम्बु क्षेत्रमा हिमपहिरो झरेको हो या हिमपोखरी फुटेको यकिन नभएको बताइन् । उनका अनुसार अहिलेसम्म बाढीले दुई होटल बगाएको र छ । मानवीय क्षतिको विवरण नआइसकेको उनले जानकारी दिइन् । खुम्बु पासाङल्हामु गाउँपालिका–५ की वडासदस्य ङवाङ जाङ्मु शेर्पाले बाढीका कारण ठूलो क्षति भएको जानकारी दिइन् ।

AnjuKarki-Solukhumbhu-32FB_IMG_1723801418161(1)copy.jpg

उनकाअनुसार थामे क्षेत्रका धेरै घरमा भीषण बाढी पसेको छ। बाढीका कारण थामेका कम्तीमा ७० घर पूरै डुबानमा परेका छन् । उनले उक्त गाउँका ४० प्रतिशतजति घरहरू भत्काइदिएको पनि जानकारी दिइन् । 

विज्ञहरुले भने हिमताल फुटेको अनुमान गरेका छन् । जलवजायुविज्ञ धर्मराज उप्रेतीले सामाजिक सञ्जालमा त्यस क्षेत्रमा वर्षा भएको अवस्था नहुनाले हिमताल फुटेको वा पहिरोले नदी केही समय थुनिएर आएको हुन सक्ने बताएका छन् । विगत १२ घण्टायता उक्त क्षेत्रमा खासै वर्षा भएको भने देखिँदैन ।  

सोलुखुम्बुको खुम्बु पासाङल्हामू गाउँपालिका ५ को टासी लाप्चा क्षेत्रमा लेदोसहित आएको भीषण बाढी प्रवेश गरेपछि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले दूधकोशी किनाराका बासिन्दालाई सुरक्षित ठाउँमा जान आग्रह गरेको छ। शुक्रबार दिउँसो बाढी आएपछि प्रशासनले सार्वजनिक सूचनामार्फत सर्वसाधारणलाई सुरक्षित स्थानमा जान आग्रह गरेको हो।