भक्तपुरको गठ्ठाघरमा बिहीबार दिउँसो भएको दुर्घटनाको सिसिटिभी फुटेज सार्वजनिक भएको छ । सिसिटिभी फुटेजमा ट्राफिक चेक पोष्ट कटेपछि ट्रकले स्कुटीलाई ठक्कर दिएको देखिएको छ ।
काठमाडौंबाट भक्तपुरतर्फ जाँदै गरेको बा.४९ प ८९४४ नम्बरको स्कुटरलाई ना.६ ख २१७३ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिँदा चालकको मृत्यु भएको छ । मृत्यु भएका व्यक्तिको शव आफन्तले सनाखत गरेका छन् । मृत्यु हुनेमा ओखलढुंगाको चिसंखुगढी गाउँपालिका–४ घर भएका ६५ वर्षीय उत्तम कोइराला छन् ।
सीसी क्यामेरा फुटेजमा ट्रकले स्कुटर ठक्कर दिएपछि चालकलाई केही परसम्म लछारेको देखिन्छ । भाडा ट्रकले बायाँतर्फ गुडिरहेको स्कुटरलाई ठक्कर दिएको देखिएको छ । ट्राफिक प्रहरीको चेकजाँच कटेपछि दुर्घटना भएको फुटेजमा देखिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी राजन कार्कीले बताए । ट्रक चालकले बायाँतर्फ गुडिरहेको स्कुटर देख्न नसक्दा दुर्घटना भएको आशंका ट्राफिक प्रहरीले गरेको छ ।
दुर्घटनापछि फरार भएका ट्रक चालक सर्लाहीको मलंगवा नगरपालिका–२ का ३२ वर्षीय मलङ सतेन्द्र श्रेष्ठ पक्राउ परेका छन् । दुर्घटनापछि बिहीबार दिनभर गठ्ठाघर तनावग्रस्त बनेको थियो । त्यहाँ प्रहरी र स्थानीयबीच झडप नै भएको थियो । त्यहाँ ११८ जना प्रहरी परिचालन गरिएको थियो । त्यसबाट पनि भिड नियन्त्रण हुन नसकेपछि विभिन्न जिल्लाहरूबाट थप ११३ जना प्रहरी १३० जना प्रहरी, १२० जना सशस्त्र प्रहरी खटाइएको थियो । प्रहरीबाट २२ राउन्ड अश्रुग्यास समेत प्रहार भएको थियो ।
हेर्नुहोस् भिडियो: