Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

गठ्ठाघर दुर्घटना अपडेटः मृत्तक दोलखाकी २३ वर्षीया सुष्मा नेपाली

भक्तपुरको गठ्ठाघरमा आज बिहीबार दिउँसो ना ६ ख २१७३ नम्बरको ट्रकले ट्राफिक जाँचमा रहेको बा ३९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएकी स्कुटर चालकको पहिचान खुलेको छ । मृत्यु हुनेमा दोलखाको मेलुङ–४ घर भई हाल काठमाडौं बागबजार बस्ने २३ वर्षीया सुष्मा नेपाली रहेकी छिन् ।

घटनापछि ट्रकका चालक भने फरार छन् । प्रत्यक्षदर्शीका अनुसार कौशलटारबाट गठ्ठाघरतर्फ गइरहेको ट्रकले ट्राफिक जाँचमा रोकिराखेको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको घट्नास्थलमै ज्यान गएको हो । तीव्र गतिको ट्रकले निकै परसम्म स्कुटरलाई घिसारेको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् । स्कुटर चालकको शरीर क्षतविक्षत भएको छ । घटनास्थलमा उनको झोला र किताब–कापी भेटिएका छन् ।

ट्राफिक प्रहरीले नदेखिने ठाउँमा बसेर सवारी चेकजाँच गरेका कारण दुर्घटना भएको भन्दै स्थानीय आक्रोशित बनेका हुन् । दुर्घटनापछि आक्रोशित भीडले ट्रकमा तोडफोड गरेका छन् । स्थानीय आन्दोलित भएपछि भक्तपुर–कोटेश्वर सडकखण्ड र सानोठिमी–जडीबुटी–पेप्सीकोला सडकमा यातायात ठप्प भएको थियो ।

अहिले साँझ भने सडक सामान्य रुपमा खुलेको छ । अहिले युवतीको शव उठाएर पोष्टमार्टमका लागि महाराजगञ्जस्थित शिक्षण अस्पताल लगिएको छ । आक्रोशित भीडले नजिकैको ट्राफिक आइल्याण्ड तोडफोड गरेका छन् । प्रदर्शनकारी आक्रामक भएपछि भीड नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास हानेको छ ।