काभा वुमन्स नेसन्स भलिबल लिगको उपाधि भारतले जितेको छ । नेपाललाई तीन, दुई सेटले पराजित गर्दै भारतले उपाधि जितेको हो ।
बुधबार भएको फाइनलमा खेलमा नेपाल भारतसँग २–३ को सेटमा पराजित भएपछि उपविजेतामै सीमित बन्यो । नेपालले घरेलु मैदानमा काभा महिला भलिबल नेसन्स लिगको उपाधि जित्ने अवसर गुमाएको हो ।
दशरथ रंगशालास्थित कभर्डहलमा भएको खेलमा नेपालले पहिलो र तेस्रो सेट जितेको थियो । तर, भारतले दोस्रे, चौथो र पाँचौ सेट जित्दै उपाधिसमेत उचाल्यो । अरु सेटमा भारतलाई राम्रो टक्कर दिएका नेपाली खेलाडीले अन्तिम तथा पाँचौ सेटमा निकै कमजोर प्रदर्शन गरे । नेपालले पाँचौ सेट ५-१५ अंकले गुमायो ।
लिगचरणमा हराएको बदला लिँदै भारतले दक्षिण एसियामा आफ्नो वर्चस्व कायम राख्यो । भारतीय टिमलाई यसअघि लिग चरणमा नेपालले हराएको थियो जुन भारतमाथि महिला भलिबलमा पहिलो जित थियो ।