एसीसी महिला एसिया कप क्रिकेटमा नेपालले आज पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । पहिलो खेलमा विजयी सुरुवात गरेको नेपालले दोस्रो खेलमा पाकिस्तानसँग प्रतिस्पर्धा गर्न लागेको हो ।
नेपाल र पाकिस्तानबीचको खेल श्रीलंकाको डम्बुला मैदानमा आइतबार साँझ ७ः१५ बजे सुरु हुने छ । आजै हुने समूह ‘ए’ को अर्को खेलमा यूएईले भारतको सामना गर्दैछ। यो खेल आइतबार दिउँसो २:१५ बजे सुरु हुनेछ।
प्रतियोगितामा आठ टोली सहभागी छन्। दुई समूहमा विभाजन गरिएको प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ। नेपालको समूहमा भारत र पाकिस्तान जस्ता टेस्ट राष्ट्रसँगै यूएई छ। समूह ‘बी’ मा श्रीलंका, बंगलादेश, मलेसिया र थाइल्यान्ड छन्। अहिलेसम्म समूह चरणका एकएक खेल सम्पन्न भइसकेका छन्।
समूह ‘ए’मा समान दुई अंकसहित भारत र नेपाल पहिलो र दोस्रो स्थानमा छन् भने पाकिस्तान र यूएईले खाता खोल्न सकेका छैनन्। समूह ‘बी’मा श्रीलंका र थाइल्याण्ड दुई अंकसहित पहिलो र दोस्रो स्थानमा छन् भने बंगलादेश र मलेसियाले खाता खोल्न सकेका छैनन्।