Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

घरमै यसरी वर्षको १६ लाख कमाउँछिन् कल्पना, अवलोकनको रुपमा विकास हुँदै

तनहुँको व्यास नगरपालिका–५ ढोडेनीकी किसान कल्पना गौलीले (ड्रागन फ्रुट) सिउँडी फल बिक्रीबाट गत वर्ष रु १६ लाख आम्दानी गरेकी छन् । नौ रोपनी क्षेत्रफलमा लगाइएका दुई हजार एक सय बिरुवाबाट उनले रु १६ लाख आम्दानी गरेकी हुन् ।

ड्रागन फ्रुटका दाना पाक्न थालेपछि टिप्न र बिक्री गर्न यो समयमा भ्याइनभ्याइ हुने गरेको किसान गौलीले बताउँछिन् । ‘माँ अम्बे अलौकिक कृषि फार्म’ दर्ता गरी विसं २०७९ मा भारतको हैदराबादबाट ‘सी’ प्रजातिका बिरुवा ल्याएर खेती सुरु गरेको उनले जानकारी दिइन् । ‘मासिक रु २० हजार बुझाउने सम्झौता अनुसार २० वर्षका लागि जग्गा भाडामा लिएर व्यावसायिक रुपमा खेती गर्दै आएको छु’, गौलीले भनिन् । अघिल्लो वर्ष रु १६ लाख बराबरको ड्रागन फ्रुट बिक्री गरेको जनाउँदै यस वर्ष फल राम्रो लागेकाले रु २० लाख बराबरको बिक्री हुने अपेक्षा गरेको छु ।’ 

‘वैशाखदेखि ड्रागन फुल्न सुरु गर्छ, फूल फुलेको ६० दिनको अवधिमा पाक्छ र टिप्नलायक हुन्छ’, उनले भनिन्, ‘असारदेखि मङ्सिर छ महिनासम्म फल टिप्न सकिन्छ ।’ यस वर्ष पहिलो छिमालमा ३५, दोस्रो छिमालमा एक हजार र तेस्रो छिमालमा एक हजार किलोग्राम ड्रागन फ्रुट टिपिसकेको उनले जानकारी दिइन् । उनका अनुसार ड्रागन फ्रुट तेह्र छिमालसम्म टिप्न सकिन्छ । 

अधिकांशले फार्ममै आएर खरिद गरी लैजाने गरेका गौलीले बताइन् । बाँकी रहेका फल दमौलीका फलफूल र तरकारी व्यवसायीलाई बिक्री गर्ने गरेको उनले जानकारी दिइन् । ‘ड्रागन बिक्रीका लागि अन्यत्र लैजानु परेको छैन् । उत्पादित फल दमौलीमा नै खपत हुने गरेको छ’, उनले भनिन् । गौलीका अनुसार फार्ममा दैनिक दुई जना कामदारले नियमित रोजगारी पाएका छन् । उत्पादित ड्रागन फ्रुट ग्रेडिङ गरेर प्रतिकिलोग्राम रु पाँचसयदेखि रु सात सयसम्म बिक्री गर्ने गरिएको उनले बताइन् । 
 
अवलोकनको रुपमा विकास हुँदै 
पछिल्लो समय गौलीको फार्म अवलोकन केन्द्रका रुपमा विकास हुँदै गएको छ । विद्यालय र कलेजका विद्यार्थी, शिक्षक तथा स्थानीय अवलोकन गर्न यहाँ आउने गरेका छन् । ड्रागन फ्रुटका बारेमा जानकारी लिन सरकारी कार्यालयका कर्मचारी, विभिन्न सङ्घसंस्थाका प्रतिनिधिसमेत फार्ममा आउने गरेका किसान गौलीले  बताइन् ।

‘फार्ममा ड्रागन फ्रुट पाकेको समयमा मानिसलाई भित्र पस्न दिने गरे पनि अन्य समयमा रोक लगाउने गरिएको छ’, उनले भनिन् ।